तारकेश्वरमा ‘एक घर, एक धारा’ अभियान

  जेठ २०, २०७९

काठमाडौँ, जेठ २0 : काठमाडौँको तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले सबै नगरवासीलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो ।

नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरभित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको राससलाई जानकारी दिनुभयो ।

यस्तै, नगरले आफ्नो आयश्रोतलाई वृद्धि गर्न करको दायरालाई फराकिलो बनाएर लैजाने बताएको छ । कतिपय सेवाग्राही हालसम्म पनि करको दायरामा नआएकाले केही शीर्षकमा कर छुट गरेर करको दायरालाई फराकिलो बनाउने नीति लिइएको नगरप्रमुख महर्जनले बताउनुभयो ।

यसैगरी, नगरको पहिलो कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउने निर्णय गरेको छ । नगरभित्र २१ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

नगरमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि तारकेश्वर नगरले आफ्नो हाताभित्रै बैंकिङ सुविधासमेत प्रदान गरेको छ । काठमाडौँको साविक साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर नगरपालिका बनाइएको तारकेश्वरमा ११ वडा छन् ।

उक्त नगरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहमा नगरप्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित हुनुभएको थियो ।
–––

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय