सिरियाली शरणार्थी फिर्ता गराउने योजना लेबनानद्वारा घोषणा

  असार २०, २०७९

बेरुत, असार २० : लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ ।प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो ।

लेबनानका विस्थापित व्यवस्थापन मन्त्री इस्साम चाराफेड्डीनले सोमबार दिएको जानकारीअनुसार योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने अठोट सरकारले लिएको छ ।

योजनालाई कार्यान्वयन गर्नका लागि दुई वटा छुट्टा छुट्टै समिति बनाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

एउटा समितिमा लेबनान, सिरिया र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयुक्तको कार्यालयका प्रतिनिधि रहनेछन् भने अर्को समितिमा लेबनान, टर्की, जोर्डन र इराकका प्रतिनिधिहरू रहने भएका छन् ।

सिरियाली शरणार्थीहरूले भने सिरियाको युद्ध अन्त्य नहुँदासम्म त्यहाँ बस्ने अवस्था नरहेकाले आफूहरू फर्किन नचाहेको बताउने गरेका छन् । तर सिरियाली सरकारले भने लेबनान सरकारको यो योजनामा सहयोग गरेको लेबनानका मन्त्री चाराफेड्डीनले बताउनुभएको छ ।

स्वदेश फर्किने शरणार्थीहरूका लागि बाटो, विद्यालय, अस्पताललगायतका विभिन्न भौतिक विकास निर्माणका कार्यहरू गरिदिने सिरियाले जनाएको छ । आफ्ना जनतालाई स्वागत गर्न र व्यवस्थापन गर्न आफू सधैँ तयार रहेको सिरियाली सरकारको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय