गोकर्ण पौडेल
तुलसीपुर पुष ७
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद प्राकृतिक एकिकृत शिक्षण अस्पताल निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा भएको छ । शिक्षण अस्पताल निर्माणका लागि विस्तृत विवरण प्रतिवेदन र वातावरणीय प्रभावको विवरण सार्वजनिक गरिएको छ ।संघीय सरकारले अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधीकरण मार्फत् ६बिगाह ७ कठ्ठा क्षेफलको जग्गामा १८ करोड तीस लाख बजेट विनियोजन गरेको छ । विस्तृत विवरण प्रतिवेदनमा उल्लेख भएबमोजिम दुई सय शैयाको अस्पताल निर्माणका लागि ६८ करोड बजेट आवश्यक पर्ने उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले शिक्षण अस्पताल निर्माणले वातावरणीय क्षेत्रमा कुनै प्रभाव नपार्ने बताउनुभयो । आयुर्वेद अस्पतालबाट निस्कने फोहोर गल्ने फोहोर बढी हुने भएकाले समस्या उत्पन्न नहुने बताउनुभयो । उहाँले अस्पताल निर्माणसंगै यस क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले आयुर्वेदतर्फ अध्ययन गर्ने विद्यार्थीहरुका लागि एक सय शैया र प्राकृतिक चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुका लागि एक सय शैयाको शिक्षण अस्पताल आवश्यक पर्ने भएकाले सोही बमोजिम निर्माणको प्रक्रिया शुरु भएको बताउनुभयो । उहाँले आयुर्वेद,प्राकृतिक चिकित्साका साथै होमोपैथी र तिब्बती चिकित्सालाई जोडेर एकिकृत शिक्षण अस्पतालकारुपमा विकास गरिने बताउनुभयो । विश्वविद्यालयले प्राकृतिक चिकित्सा अध्ययनका लागि पाठ्यक्रम समेत तयार पारेको छ ।
तुलसीपुर १७का भेषराज गौतमले शिक्षण अस्पतालका साथै विश्वविद्यालयको प्रयोगविहिन अवस्थामा रहेको जग्गालाई जडिबुटी उद्यानकारुपमा विकास गर्दा वातावरणीय र औषधी दुवै कार्यमा उपयोग गर्न सकिने बताउनुभयो । विश्वविद्यालयले २०६८ सालदेखि नै आयुर्वेद स्नातक तह (विएएमएस) कक्षा सुरु गरेपनि अझै शिक्षण अस्पताल नबन्दा प्रयोगात्मक अभ्यास सहजरुपमा गर्न नपाएको आयुर्वेद केन्द्रीय विद्यार्थी डाक्टर शिखर पोख्रेलले बताउनुभयो ।
शिक्षण अस्पताल नहुँदा आयुर्वेद केन्द्रीय क्याम्पसका विद्यार्थीहरुले वार्षिकरुपमा शुल्क तिरेर प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रयोगात्मक अभ्यास गर्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद स्नातक तह(विएएमएस)को कक्षा सञ्चालन गरेपनि शिक्षण अस्पताल नहुँदा विद्यार्थीहरुले पटक पटक तालाबन्दी गर्दै आएका छन् ।
फोटोल क्याप्सन ः एकिृकत शिक्षण अस्पताल निर्माण स्थल तुलसीपुर १८