मेयरले पठाए जलनले घरमै थलिएकी पम्फीलाई उपचार गर्न काठमाडौँ

  कार्तिक २३, २०८०


तुलसीपुर कार्तिक २३
खाना पकाउने क्रममा अग्नी जलनमा परेकी पम्फी पुनलाई तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उपचारका लागि काठमाडौँ पठाउनुभएको छ । बिहिवार साँझ नगरप्रमुख खड्काले व्यक्तिगतरुपमा उहाँको उपचार गर्नका लागि तुलसीपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि काठमाडौँ पठाउनुभएको हो । तुलसीपुर १९ सुंगुरखोलाकी २८ वर्षिय पम्फी पुन कार्तिक ९ गते खाना पकाउने क्रममा अग्नी जलनमा पर्नुभएको थियो । उहाँका श्रीमान कार्तिक १० गते राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याउनुभएको थियो ।
अस्पतालमा डाक्टरहरुले यहाँ उपचार गर्न सम्भव नभएको तत्काल अन्यत्र लैजान सुझाव दिएका थिए । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार गर्न नसकी घरमै लैजानुपरेको उहाँका श्रीमान् बुद्धिराम पुनले बताउनुभयो । बुद्धिराम पुन अग्नीजलनबाट पीडित श्रीमतीको उपचारका लागि आर्थिक जोहो गर्न बुधबार अर्थात् कार्तिक २२ गते वडा कार्यालयबाट सिफारिस ल्याएर तुलसीपुर उपमहानगरपालिका कार्यालयमा आउनुभएको थियो ।
नगरप्रमुख खड्काले तत्कालै पालिकाबाट आर्थिक सहयोग गर्न नसकेपनि राप्ती प्रादेशिक अस्पतालबाट काठमाडौँसम्म पुग्न लागि पालिकाकाबाट एम्बुलेन्स सेवा निशुल्क व्यवस्था गरेको बताउनुभयो । उहाँले तत्कालैका लागि त्यहाँ पुगेपछि उपचारका लागि व्यक्तिगततर्फबाट रकमको व्यवस्था गरेको बताउनुभयो । त्यस्तै वडा नम्बर १९ वडा कार्यालयबाट समेत उपचारका लागि तत्कालै सहयोग पुगोस् भन्ने ध्येय राखेर रकम उपलब्ध गराएको वडा सदस्य रामबहादुर पौडेलले बताउनुभयो ।
अग्नीजलनबाट पम्फीको अनुहारमा घाँउ भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जलन भएको करिब १५ दिन पछि मात्रै काठमाडौ पठाइएको छ । नगरप्रमुख खड्काले समयमै जानकारी प्राप्त नहुँदा पम्फीलाई उपचारमा सहयोग गर्न नसकिएको बताउनुभयो । उहाँले पम्फीको उपचारमा आर्थिक अभावकै कारण खड्को नपरोस् भन्ने हेतुका साथ आर्थिक संकलनको अभियाननै थाल्ने र पालिकाबाट कार्यपालिका निर्णय गरेर थप रकम उपलब्ध गराउने बताउनुभयो । पम्फीको उपचारका लागि यस क्षेत्रका युवाहरुले समेत सहयोग गरेका छन् । बिहिवार मात्रै करिब तीस हजार रकम संकलन गरेर उहाँका श्रीमानलाई रकम हस्तान्तरण गरिएको युवा शुसील खड्काले बताउनुभयो । पम्फीका पाँच जना सन्तान रहेका छन् । श्रीमान् बुद्धिराम पुनले आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा सहयोग गर्नका लागि अनुरोध गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय