वसन्त पराजुलीको ‘मोम्चो’ माथि काठमाडौँमा विशेष परिचर्चा

  जेठ १८, २०७९

काठमाडौँ, जेठ १८: आख्यानकार तथा पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘मोम्चो’माथि आज काठमाडौँमा विशेष परिचर्चा गरिएको छ । भूँडीपुराण प्रकाशनको आयोजना र साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कथा सङ्ग्रहप्रति टिप्पणी गर्दै साहित्यकार प्राडा सावित्री मल्ल कक्षपतिले गर्दै कथा सिर्जनात्मक र समाज चित्रणको सुन्दर प्रस्तुति रहेको बताउनुभयो । कक्षपतिले नारी पात्रलाई भने निरिह रुपमा प्रस्तुत गरिएको टिप्पणी गर्नुभएको छ ।

पत्रकार पराजुलीको उक्त कथा सङ्ग्रहमा चितवनको अतिसिमान्तकृत चेपाङ समुदाय र उसले प्रयोग गर्ने भाषा, जीवनशैली आदि समेटिएको छ । पराजुलीको यो दोस्रो कृति हो । समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले दोस्रो कृतिसम्म आइपुग्दा आख्यानकार पराजुली सफल देखिएको बताउनुभयो । पत्रकार पराजुलीले ‘मोम्चो’मा स्थलगत भ्रमण गरेर त्यहाँको सामाजिक परिवेशलाई समेट्नुभएको छ ।

कार्यक्रममा प्रकाशक केशव पराजुली, साहित्यकार अश्विनी कोइराला, पत्रकार केदार भट्टराई, साहित्यकार सगुना शाह, स्थानीय नेपोलियन चेपाङ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, नाटककार अशेष मल्ललगायतले धारणा राख्नुभएको थियो ।

आख्यानकार पराजुलीले चितवनको चेपाङ समुदायको अवस्था माथि उठाउन चेपाङ भाषाको ‘मोम्चो’ शब्द लिइएको जानकारी दिनुभयो । त्यसको अर्थ महिला वा नारी हुने पनि जानकारी उहाँले बताउनुभयो । यसअघि उहाँले कुमाता कथा कृति प्रकाशन गरिसक्नुभएको छ । उहाँले यसअघि चेपाङ समुदायभित्र हुने बालविवाह र त्यसपछि महिलाले भोग्नुपर्ने समस्यामा केन्द्रित रही बनेको शीर्ष कथा मोम्चो कृति एक चेपाङ समुदायकी किशोरी (मोम्चो) रमिताबाट नै विमोचन गराउनुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय