प्रतिरक्षा सम्झौतामा सामेल हुन डेनमार्कमा जनमत सङ्ग्रह

  जेठ १९, २०७९

कोपेनहेगन, जेठ १९ : रुस–युक्रेन द्वन्द्वले बढाएको चिन्ताका बीच डेनमार्कले युरोपेली सङ्घ (इयू) रक्षा सम्झौतामा सामेल हुन मतदान गरेको छ । यससँगै सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा कोपेनहेगन समाहित भएको छ भने त्यसमा सहभागी नहुने ३० वर्ष पुरानो प्रावधान खारेज भएको छ ।

बुधवार भएको जनमत सङ्ग्रहमा डेनमार्कका बहुसङ्ख्यक नागरिकले रक्षा सम्झौताको पक्षमा मतदान गरेका छन् । उक्त कदमका पक्षमा ६६.९ प्रतिशतले मतदान गरेका प्रारम्भिक नतिजाले देखाएको डेनमार्क स्ट्याटिस्टिकले जनाएको छ । अब डेनमार्कलाई सैन्य सहयोग बारे छलफल गर्न इयूमा स्थान प्राप्त भएको छ । हिजोको निर्वाचनमा ४२,६०,९४४ मतदातामध्ये ६५.७६ प्रतिशतले भोट हालेका थिए ।

युरोप र डेनमार्कको भविष्यका लागि सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा सहभागी हुनु सही भएको बताउँदै मतदान पछि प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले इयू नीतिमा डेनमार्क विगतमाभन्दा बढी एकजुट हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घको रक्षा मामिलामा बाहिर नै रहने नीतिका कारण डेनमार्कले सङ्घका सैन्य कारबाहीमा भाग लिन पाएको थिएन भने आफ्नो सैन्य क्षमता विकासमा पनि सहभागी पाएको थिएन । गत मार्चमा डेनमार्कको संसद्ले सङ्घको रक्षासम्बन्धी सम्झौतामा सहभागी हुने÷नहुनेबारोमा जुन १ मा जनमत सङ्ग्रह गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय