थप ७८ जनामा संक्रमण, ५०८ सक्रिय संक्रमित, २३ कोरोनामुक्त

  असार २३, २०७९

काठमाडौं, असार २३ : पछिल्लो केही दिनदेखि नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार तीन हजार ५१५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा  ७८ जनामा कोरोना पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये २.२१ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

जसमा एक हजार ३८४ जनाको आरटी पिसिआर गर्दा ६० जनामा र दुई हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी २२ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, ललितपुरमा १८, मकवानपुरमा चार, मोरङमा तीन, कास्की र बाँकेमा दुई–दुईजना सङ्क्रमित भएका छन् । सङ्खुवाशभा, सुनसरी, सिराह, काभ्रे, रुपन्देही र सल्यानमा एक–एकजना सङ्क्रमित थपिएका छन् ।

२४ घण्टामा २३ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । २४ घण्टामा ८८ हजार छ सय ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०८ पुगेको डा अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौंमा २५९, भक्तपुरमा आठ, ललितपुरमा ५३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ५०१ जना होम आइसोलेसन र अस्पतालको आइसियुमामा सातजना उपचाररत रहेका छन् ।

त्यस्तै, एकजना बिरामीको भेन्टिलेटरमा उपचार हुँदै आएको छ । बुधबार ११३, मङ्गलबार ९०, सोमबार ४० आइतबार ५३ जनामा कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय