विराटनगरका एक हजार ४८४ जना काेभिड बिरामीले पाए राहत

  साउन ०१, २०७९

विराटनगर, साउन १ : कोरोना महामारीले गर्दा उत्पन्न असहज परिस्थितिका कारण गरिबीको चपेटामा परेका विराटनगरका एक हजार ४८४ परिवारले सरकारबाट राहत सुविधा लिएका छन् ।

सरकारले कोरोना महामारीका कारण गरिबीको चपेटामा परेका नागरिकलाई राहत दिने घोषणा गरेको थियो । सोही घोषणाबमोजिम स्थानीय पालिकाहरुमा निकासा गरिदिएको रकम विराटनगर महानगरपालिकाले सम्बन्धित परिवारलाई उपलब्ध गराएको हो ।

सङ्घीय सरकारले कोरोना महामारीले गर्दा रोजगार गुमाएको र वैकल्पिक आयको व्यवस्था नभई गरिबीको मारमा परेका परिवारलाई जनही १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणानुसार विराटनगर महानगरपालिकाका दुई हजार ८९ जनाका लागि राहत रकम प्राप्त भएकोमा एक हजार ४८४ जनालाई राहत उपलब्ध गराएको हो ।

सङ्घीय सरकारले राहतका लागि दुई करोड आठ लाख ९० हजार रुपियाँ निकासा पठाएको थियो । त्यसमध्ये एक करोड ४८ लाख ४० हजार रुपियाँ वितरण भएको र ६० लाख ५० हजार रुपियाँ वितरण हुन नसकी फर्किएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय