‘कबड्डी–४’ को उत्साहजनक प्रदर्शन

  असार २६, २०७९

काठमाडौँ, असार २६ : नेपाल चलचित्र उद्योगमा ५१औँ दिन मनाउने चलन अब कथाजस्तै भइसक्यो । केही चलचित्रहरूले मात्र सिनेमा घरमा ५१औँ दिन मनाउन सफल भएका छन् । जेठ १६ बाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ ले यो मौका प्राप्त हुने सङ्केत दिएको छ । ४० दिनभन्दा बढी सिनेमा घरमा प्रदर्शन हुन सफल चलचित्र सर्वाधिक कमाइ गर्ने पहिलो नेपाली चलचित्र बनेको छ । समीक्षकबाट प्राप्त भएको आलोचनात्मक समीक्षाले पनि दर्शकको माया पाएको चलचित्रले ५१औँ दिने सफलताको मानक पनि छुने देखिएको छ ।

शनिबार ४१औँ दिनमा प्रदर्शन भइरहेको चलचित्रलाई ५१औँ दिन मनाउन अब हलमा १० दिन टिक्नुपर्नेछ । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले ५१औँ दिन मनाउन पाउनु भनेको चलचित्रकर्मीका लागि उत्सवजस्तै भएको बताउनुभयो । “राम्रो कथावस्तु प्रस्तुत गरेको छ भने यो उत्सव मनाउन पाउँछ,” उहाँले भन्नुभयो, “दर्शकको मायाले मात्र हामी चलचित्रकर्मीले ५१औँ दिन मनाउन पाउँछौँ ।” अहिले चलचित्र निर्माण धेरै भएका कारणले पनि ५१औँ दिनसम्म सिनेमा घरमा चलचित्र टिक्न नसकेको दाबी उहाँले गर्न‘भयो ।

जेठपछि ठूला नेपाली चलचित्र प्रदर्शन नहुनु र प्रदर्शन भएका नेपाली तथा विदेशी चलचित्रले दर्शक रिझाउन नसक्दा हलमा टिकिराख्न ‘कबड्डी ४’ लाई सजिलो भएको भन्ने पनि धेरैले आकलन गरेका छन् । ‘कबड्डी’को अन्तिम शृङ्खला भनिएकाले पनि चलचित्रको व्यापारमा ठूलो उछाल आएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय