शिक्षा सुधार्ने अभियानमा तुलसीपुर उपमहानगरपालिका

  कार्तिक ०७, २०७९


तुलसीपुर कात्तिक ७
तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको जग ठानिने प्राथमिक तहको शिक्षा अवस्था सुधारको प्रयास सुरु गरेको छ । माध्यमिक तह पुग्दा समेत विद्यार्थीहरुमा आधारभूत शिक्षण सिकाई प्राप्त नभएपछि पालिका शिक्षा,युवा तथा खेलकुद महाशाखाले आधारभूत तहका प्रधानाध्यापकहरुसंग सिकाई उपलब्धि हासिल गर्नका लागि छलफल गरेको छ ।
नगरप्रमुख टीकाराम खड्काले विद्यालयको शिक्षण सिकाई उपलब्धिका लागि प्रविधिसंग जोडिएर विद्यार्थीहरुलाई शिक्षण सिकाईमा आकर्षण गर्ने सामग्री तयार पारेर पठनपाठन गर्नका लागि आग्रह गर्नुभएको थियो । विद्यालयका माथिल्ला कक्षाहरुमा पुग्दा समेत न्यूनतम शिक्षण सिकाई उपलब्धि नभएको अवस्थामा सिकाईको जग मानिने तल्लो तहबाटै सुधार गर्दै लैजान आग्रह गर्नुभयो । उहाँले शिक्षण सिकाईमा प्रभाव पार्ने सरसफाई, स्वच्छता,भौतिक पूर्वाधार विशेष ध्यान दिइने बताउनुभयो । उहाँले विद्यालयको भौतिक अवस्था सुधारका लागि पालिकामात्रै नभई विभिन्न सामुदायिक संघ संस्थासंग समन्वय गरेर अघि बढ्नका लागि निर्देशन दिनुभएको थियो ।
उपप्रमुख स्यानी चौधरीले विद्यालयको भौतिक अवस्था सुधारका लागि विस्तारै पालिकाबाट बजेट बढाउदै लैजाने बताउनुभयो । उहाँले विद्यालयको वरपरको वातावरण हरियाली, पुष्पबाटिका सहित निर्माण गर्न सके विद्यार्थीहरुमा सिकाई सीपमा थप उपलब्धि रहने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि भौतिक अवस्था,प्रविधि जनशक्ति व्यवस्थापन, शिक्षण सामग्री उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रम सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका बारेमा शिक्षा महाशाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चार महाशाखाका मनबहादुर खड्काले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय