तुलसीपुर मेट्रो कलेजमा स्नातक तहमा वन विज्ञान थपिदै

  पुष १७, २०७९


तुलसीपुर पुस १७
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेजमा वन विज्ञानतर्फ स्नातक तहसम्मको कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइने भएको छ । लुम्बिनी बौद्घ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर हाल कलेजमा कानुन विषय स्नातक तहसम्म पढाइ भइरहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हृदयरत्न बज्राचार्यले कलेजले वन विज्ञान विषय स्नातक तहसम्म कक्षा सञ्चालनका लागि तयारी रहेको अवस्थामा विश्वविद्यालयले सम्बन्धन दिनका लागि प्रक्रिया अघि बढाउन तयार रहेको बताउनुभयो ।

उपकुलपति बज्राचार्यले स्नातक तहसम्म वन विज्ञान विषय पढाउने कलेज यस क्षेत्रमा नभएकाले समेत स्नातक तहसम्म कक्षा सञ्चालन अनिवार्यजस्तै भएको बताउनुभयो । उहाँले कक्षा सञ्चालनका लागि आवश्यक जनशक्ति,भौतिक पूर्वाधारका लागि कलेजलाई तयारी अघि बढाउन आग्रह गर्नुभएको छ ।
कलेजका अध्यक्ष एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले आवश्यक पूर्वाधार र आवश्यक परेको अवस्थामा पाठ्यक्रम तयारीका लागि प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले विश्वविद्यालयसंग समन्वय सहकार्य गरेर बौद्घ संस्कृतिको अध्ययन अनुसन्धानका कार्यहरुलाई अघि बढाउन तयार रहेको बताउनुभयो । कलेजका प्राचार्य वसन्त आचार्यले प्रविणता प्रमाणपत्र तहमा समेत वन विज्ञान विषय पढ्ने विद्यार्थीहरुले बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर अध्ययन गर्ने गरेको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाभित्र एकसयभन्दा बढी सामुदायिक वन रहेकाले वन विज्ञान विषयको स्नातक तह कक्षा सञ्चालनका लागि प्रयोगात्मक अभ्यासका लागि समस्या सिर्जना नहुने बताउनुभयो । विश्वविद्यालयको सहकार्यमा कलेजले स्नातक तह कक्षा सञ्चालनका लागि विशेष कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय