तुलसीपुर उपमहानगरपालिको मेट्रो अस्पताल
न्यून शुल्कमै विशेषज्ञसहितको सेवा

  January 25, 2023

तुलसीपुर माघ ११
नेपालको संविधानमै शिक्षा,स्वास्थ्य,खानेपानीजस्ता आधारभूत आवश्यकतालाई निशुल्करुपमा प्रदान गरिने उल्लेख गरिएको छ । संविधानमै उल्लेख गरिएका आधारभूत आवश्यकता पूरा गर्नका लागि तीन वटै तहका सरकारले नीति तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गर्दै आएका छन् । सात सय ५३ वटै स्थानीय तहमा अस्पतालहरु शिलन्यास भएपनि धेरैजस्तो ठाउँमा शिलन्यासमै सीमित रहेका अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले भने विशेषज्ञसहितको सेवा दिन सुरु गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ८ अश्वारामा सञ्चालनमा ल्याएको भीमसेन शहरी स्वास्थ्य प्रवर्धन केन्द्र मेट्रो अस्पतालमार्फत विशेषज्ञसहितको सेवा सुरु गरेको छ । सेवाग्राहीहरु अन्यत्रबाट सेवा लिदा आर्थिकरुपमा चर्को मारमा परिरहेका बेला मेट्रो अस्पतालमा भने न्यूनतम शुल्कमा सेवा सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर प्रकाश साहुले अन्यत्रका अस्पतालभन्दा सम्पूर्ण सेवामा शुल्क अत्यन्त कम रहेको बताउनुभयो । उहाँले अस्पतालबाट शल्यक्रियाको सेवा सुरु गर्नका लागि आवश्यक उपकरणका लागि खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अस्पतालमा तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम क्षेत्रका तीन वटै पालिकाका सेवाग्राहीहरुलाई न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गर्न थालिएको बताउनुभयो । उहाँले १५ दिनभित्रै शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न स्वास्थ्य प्रवर्धन शाखालाई निर्देशन दिइएको बताउनुभयो । नगरप्रमुख खड्काले पालिकाले छुट्टै अस्पतालकारुपमा सञ्चालन गरेर नगरवासीलाई सहुलियत दरमा सेवा र विपन्न समुदायका व्यक्तिहरुलाई निशुल्करुपमै स्वास्थ्य सेवा दिन सकिने बताउनुभयो । अस्पतालले अहिले तीन दिन विशेषज्ञसहितको सेवा दिइदै आएको छ । अस्पतालमा डिजिटल एक्सरे,भेन्टिलेटर,आइसियु बेड समेत रहेका छन् ।
अस्पतालका एक सय पचास बढी कोरोना संक्रमणका व्यक्तिहरुलाई राखेर उपचार गरिएको थियो । यसैबीच अस्पतालमा संघीय सरकारले सेवा प्रवाहका लागि डाक्टर पठाएको छ । नगरप्रमुख टीकाराम खड्काले एक कार्यक्रमका बीच अस्पतालमा आउनुभएका डाक्टर मेघना नेपाललाई स्वागत गर्नुभएको थियो । नगरप्रमुख खड्काले थप दुई जना डक्टर समेत माग गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष धर्मराज थापाले पालिकाका सबै जनप्रतिनिधिहरुले अस्पतालमा अपनत्व लिएर सेवा प्रवाह बढाउन लाग्नुपर्ने बताउनुभयो । अस्पतालमा अत्यावश्यक सामग्रीहरु समेत संघीय सरकारमार्फत् माग गरिएको छ ।

Comments