आयुर्वेद केन्द्रीय विद्यापीठ सभापतिमा अनेरास्ववियुका बञ्जाडेको विजयी

  March 19, 2023


गोकर्ण पौडेल
तुलसीपुर चैत ५
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद केन्द्रीय विद्यापीठको स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचनमा अनेरास्ववियुका हेमन्त बञ्जाडेले ८३ मत लिएर स्ववियु सभापतिमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट अजयप्रताप चोबेले ६१ मत प्राप्त गर्नुभएको हो । त्यस्तै नेपाल विद्यार्थी संघका वसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभएको थियो ।
आयुर्वेद स्नातक तह(विएएमएस) पढाई हुने आयुर्वेद केन्द्रीय विद्यापीठमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनीयनको निर्वाचन भएको हो । यस विद्यापीठमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी मोर्चा रहेको थियो । प्रत्यक्षतर्फको निर्वाचनमा सचिवमा अखिल क्रान्तिकारीका गणेश पौडेलले विजयी हुनुभएको छ । कोषाध्यक्षमा अनेरास्ववियुका कुन्दनकुमार जैसवाल विजयी हुनुभएको छ । सदस्यहरुमा अनेरास्ववियुबाट अपेक्षा पोख्रेल अनेरास्ववियु क्रान्तिकारीबाट रोशन चौधरी र मंगल थारु विजयी हुनुभएको छ । त्यस्तै नेपाल विद्यार्थी संघबाट सदस्यमा टेकेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । कूल एक सय ९७ मत रहेको क्याम्पसमा एक सय ८९ मत खसेको थियो ।
संस्कृत विश्वविद्यालयअन्तर्गत जिल्लामा रहेका तीन वटा क्याम्पसमध्ये आयुर्वेद केन्द्रीय विद्यापीठमा मात्रै निर्वाचन भएको हो । विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ ।

Comments