वार्षिक दश लाख मूल्यको एल पि ग्याँसको आयातमा कमी

  January 25, 2024

तुलसीपुर माघ १०
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बकुलाहीकी नहरी चौधरी ६० वर्ष पुग्नुभयो । ५९ वर्षसम्म गुइँठा बालेर खाना पकाउनु भएकी नहरीले अब भने त्यही गोबरबाट बनेको गुँइठाको पिरो धुवामै बसेर खाना पकाउनु पर्ने छैन । उहाँको घरमा गोबर ग्यास प्लान्ट निर्माण भएको छ ।
कालिका मालिका किसान जलुके सामुदायिक वनका उपभोक्ता नहरी चौधरीलाई भने अब घरदेखि घास दाउरा लिनका लागि दशकिलोमिटर उत्तरतर्फको वनमा समेत जानुपर्ने समस्या पनि टरेको छ । चौधरीले भन्नुभयो ‘ पहिले त्यही गोबरको गुँइठा सुकाएर बाल्थ्यौ अब भने त्यही गोबरबाट निस्किएको ग्याँस बाल्छौँ ’ । नहरीजस्तै तुलसीपुर १८ बकुलाहीकी चीजमानी चौधरीको खाना पकाउने समय घटेको छ । पहिले दाउरामा खाना पकाउँदा तीनचार घण्टा समय लाग्थ्यो अब भने एक घण्टामै दालभात तरकारी पकाउन सकिन्छ । चीजमानी भन्नुहुन्छ – खाना पकाउने समय बच्यो अब त्यो समयलाई खेतबारीमा लगाएर तरकारी फलाउँछु ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३,४,१८ र १९का १० वटा सामुदायिक वनका दुई सय उपभोक्ताको घरधुरीमा निशुल्करुपमा बायो ग्यास निर्माण सुरु गरिएको छ । दुई सयमध्ये एक सय पचास निर्माणको चरणमै रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले पालिका र वन्यजन्तु संरक्षण संघको समन्वय सहकार्यमा एकैपल्ट दुई सय उपभोक्ता घुरधुरीमा बायो ग्यास निर्माण सुरु गरिएको बताउनुभयो ।
वन्यजन्तु संरक्षण संघका राजेश्वर रिजालले दुई सय घरमा निर्माण गरिएको बायो ग्यासबाट वार्षिक पाँच सय एल पि ग्याँस विस्थापन हुने बताउनुभयो । उहाँले बायो ग्यास निर्माणसँंगै एलपि ग्यासको आयातमा कम गर्दै दश वर्षमा ती घरधुरीबाट एल पि ग्यास खरिदमा लाग्ने एक करोड बचत हुने बताउनुभयो । बायो ग्यास पछि निस्किएको मललाई कम्पोष्ट, लेदो मलकारुपमा समेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
फोटो क्याप्सन ः तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बकुलाहीकी चिजमानी चौधरी बायो ग्यासमा चिया पकाउँदै

Comments