तुलसीपुरको चौधौँ नगर सभा सुरु

  माघ २६, २०८०

तुलसीपुर माघ २६
तुलसीपुर उपमहानगरपालिकाको चौधौँ नगर सभा शुक्रबारदेखि सुरु भएको छ । नगर प्रमुख टीकाराम खड्काले नगर सभा सुरु गर्नुभएको हो ।
सभामा उपप्रमुख स्यानी चौधरीले आर्थिक वर्ष २०८०÷८१मा प्रस्तुत गरिएका बजेटको शीर्षकान्तरण रकमान्तरण प्रस्तुत गर्नुभएको छ । सभामा विषयगत समितिका संयोजकहरुले विषयगत प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
सभामा विधायन समितिका संयोजक भीमबहादुर कँवरले तुलसीपुर उपमहानगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक, नगर प्रहरी ऐन केही दफा संशोधन प्रस्तुत गर्नुभएको छ । पालिकाले यस क्षेत्रभित्र रहेका खानेपानी संस्थाको नियमन,अनुगमन र व्यवस्थापनका लागि खानेपानी ऐन ल्याउन थालेको छ । संयोजक कुवरका अनुसार अहिलेसम्म एक सय ६१ वटा ऐन कानुन निर्माण गरेको छ भने खानेपानी सम्बन्धी विधेयक सभामा प्रस्तुत गरिएको छ । संयोजक कुवरका अनुसार आर्थिक वर्ष २०८०÷८१मा पर्यटन विकास कार्यविधि,तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी व्यवस्थापन मापदण्ड,एकिकृत डाटा व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि समेत पारित गरिएको गरिएको छ ।
त्यस्तै आर्थिक विकाश समितिका संयोजक माधव वलीले आर्थिक ऐन २०८०को दफा १९सँग सम्बन्धीत केही संशोधन प्रस्तुत गर्नुभएको छ । त्यस्तै न्यायिक समिति संयोजक स्यानी चौधरी, सुशासन समितिका संयोजक धर्मराज वली, विधायन समितिका संयोजक भीमबहादुर कँवर, आर्थिक विकास समितिका संयोजक माधव वली, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर विश्वकर्मा, वनवातावरण समितिका संयोजक दुजमान भण्डारी, लेखा समितिका संयोजक घनश्याम ढकाल, सहकारी समिति संयोजक खुसीराम चौधरी,खेलकुद समिति संयोजक शिवानन्द डाँगी, प्राकृतिक स्रोत परिचान समितिका संयोजक शंकर खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय