सामाजिक सेवासहित अभियानमा लाग्नून् ः गिरी

  March 19, 2023

गोकर्ण पौडेल
तुलसीपुर चैत ५
नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले सामाजिक सेवा सहित मिसनग्रास रुट अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा एमाले घोराही नगर कमिटीका अध्यक्ष भुवन चौधरीको अध्यक्षता एवम मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा अभियानको कार्यक्रम सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्घिको मार्गमा बढेको बताउनुभएको छ । मुख्यमन्त्री गिरीले साधन स्रोतको अभाव भएपनि नागरिकको सहयोगबाट प्रदेशलाई समृद्घिको मार्गमा अघि बढाउन सकिएको बताउनुभयो । नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जनप्रतिनिधि नागरिकसंगको सहकार्य र समन्वयको अभावमा अल्झनमा परेकाले विकासमा अवरोध सिर्जना भएको बताउनुभयो ।
मुख्यमन्त्री गिरीले सबैको समन्वय र सहकार्यबाट प्रदेशको विकास र समृद्घिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो । उहाँले नागरिकका असीमिति चाहाना इच्छाहरुलाई जनप्रतिनिधिहरुले समन्वय गर्न सकेको अवस्थामा पूरा गर्न सकिने बताउनुभयो ।
नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य समेत रहेका गिरीले नेकपा एमालेले विगतमा गरेका कार्यहरुबाट नै जनताप्रति आकर्षण बढिरहेको बताउनुभयो । उहाँले जनताको आकर्षणलाई नेता कार्यकर्ताबाट विकासमा कार्यमा अग्ररसता दिलाउनुपर्ने बताउनुभयो । पोलिट्ब्यूरो सदस्य रहेका गिरीले अभियानका क्रममा पार्टी कार्यकर्ताहरुलाई गोलबद्ध मात्रै नभई सामाजिक कार्यहरुमा समेत अग्रसरता दिलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानका क्रममा शिक्षालय,पाटी,पौवा,चौतारा,नदीनाला सरसफाई जस्ता सामाजिक विकासका कार्यमा लाग्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशका सचिवालय सदस्य टीकाराम खड्काले अभियानका क्रममा पुराना नेता कार्यकर्ताहरुलाई सम्मान गर्ने कामको सुरुवात भएको बताउनुभयो । उहाँले अभियानका क्रममा नागरिकमा एमालेप्रतिको आकर्षण बढ्दो क्रममा रहेको र विकासका कार्यहरुमा एमालेकै नेतृत्वबाट बढी आशा अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा ग्रासटरुट अभियानका क्रममा जिल्लाबाट खटिएका नेताहरुले विवरण प्रस्तुत गर्नुभएको हो ।

Comments