कञ्चनपुरमा प्रमुख/उपप्रमुखमै २८ प्रतिशत मत बदर

  जेठ १८, २०७९

महेन्द्रनगर, जेठ १८ : नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख/उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ ।स्थानीय तहको निर्वाचन सकिएपछि यहाँस्थित जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ । मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमललगायतका कारणले प्रमुख÷प्रमुख पदमै बढी बदर भएको हो ।

निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ । दुई लाख पाँच हजार २५० मत खसेको कञ्चनपुरमा ५८ हजार ८६२ मत नगरप्रमुख र उपप्रमुखका साथै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा बदर भएको छ । भीमदत्तनगरमा कूल ४२ हजार ७४९ मत खसेकोमध्ये नगरप्रमुख पदमा सात हजार ५३५ मत र उपप्रमुखमा छ हजार ९३८ मत बदर भएको छ । नगर प्रमुख र उपप्रमुखमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्यसैगरी यहाँको दोधारा–चाँदनीमा नगर प्रमुखमा एक हजार ४८७ र उपप्रमुखमा एक हजार ६८० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । महाकाली नदीपारीको दोधारा–चाँदनीमा कूल १८ हजार ३१९ मत खसेको थियो । यहाँ नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा कांग्रेस उम्मेदवारी विजयी भएका छन् ।

त्यस्तै नगरप्रमुख र उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको वेदकोट नगरपालिकामा कूल २२ हजार २९३ मत खसेको थियो । यहाँ नगरप्रमुखमा तीन हजार ६५६ र उपप्रमुखमा तीन हजार ७५६ मत बदर भएको तथ्याङ्कले देखाएको छ । नगरप्रमुख र उपप्रमुखमा मात्रै नभएर वडाध्यक्षदेखि वडा सदस्य, महिला सदस्यसम्ममा मत बदर भएको देखिन्छ । जसका कारण धेरैजसो पालिकामा झिनो मतान्तरले जीत र हारको परिणामसमेत निस्केको छ ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिका पनि प्रमुख र उपप्रमुखलगायत वडाको सदस्यसम्म बदर मतबाट अछुतो छैन् । शुक्लाफाँटाको नगरप्रमुखमा दुई हजार ९८९ मत र उपप्रमुखमा तीन हजार ९१९ मत बदर भएको छ । यहाँ नेकपा (एमाले)का उम्मेदवार नगरप्रमुख र नेपाली कांग्रेसका उम्मेदवार उपप्रमुख जितेका थिए । यहाँ कूल २२ हजार ४२७ मत खसेको थियो ।

त्यसैगरी कृष्णपुर नगरपालिकामा २८ हजार ९४६ मत खसेको थियो । जसमा प्रमुखमा दुई हजार ७६७ र उपप्रमुखमा तीन हजार ५३५ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ । यहाँ प्रमुख र उपप्रमुख पद दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएर पालिकाको कामकाज अघि बढाइसकेका छन् ।

यहाँको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख बन्नुभएको छ । तेइस हजार ६०८ मत खसेको पुनर्वासमा नगरप्रमुखमा चार हजार २९९ र उपप्रमुखमा चार हजार ३६२ मत बदर भएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय