जो मजदुरी गर्दागर्दैै मालिक भइन्

  जेठ १९, २०७९

वीरेन्द्रनगर, जेठ १९ : सङ्घर्षबाटै सफलता प्राप्त हुन्छ । सङ्घर्षलाई निरन्तर अगाडि बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन भन्ने कुरालाई जीवनमा चरितार्थ गरेर देखाउनुभएको छ, वीरेन्द्रनगर वडा नं १२ की नन्दा नेपाली (राना)ले । जीवनमा धेरै आरोह–अवरोह पार गर्ने क्रममा पीडा, अवहेलना पनि सामना गर्नुपर्दा सङ्घर्ष गरेरै सफल उद्यमी बन्नुभएकी नन्दाले अहिले विपन्न परिवारका महिलालाई रोजगारीसमेत दिँदै आउनुभएको छ ।

दैलेखमा जन्मिएरै हुर्किनुभएकी उहाँले कर्मघर भने दाङ रोज्नुभयो । दलितकी छोरी रानाका छोरासँग प्रेम विवाह गरेका कारण नन्दालाई घरबाट अस्वीकार गरियो । सामान्य परिवारकी छोरी उहाँलाई दाइजो नल्याएको निहुँमा घरपरिवारले अपहेलना गर्थे । “पहिलो कुरा अन्तरजातीय विवाह, त्यसमाथि दाइजो पनि नल्याएकाले घरमा राम्रो मान्ने कुरा नै भएन”, नन्दा भन्नुहुन्छ, “घरमा बस्न नसक्ने अवस्था नभएपछि हामीले घरै छाडेर हिड्याँै ।”

नन्दा र उहाँका श्रीमान्ले सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बसेर मजदुरी गर्न थाल्नुभयो । “कहिले घर बनाउने ठाउँमा काम गरेँ कहिले इँटा बोक्ने र गिट्टी बालुवाको काम गरेँ” उहाँ भन्नुहुन्छ, “साँझ र बिहानको हातमुख जोड्न पनि नसकिने अवस्था थियो, साथ दिने आफन्त कोही थिएनन् ।” दिनभरि काम गरेवापत रु ३०० देखि ३५० सम्म पाउने गरेको नन्दाले बताउनुभयो ।

भोक र तिर्खा सहेरै पनि नन्दा मजदुरी गर्नुहुन्थ्यो । उहाँका श्रीमान् भारत कमाउन जानुहुन्थ्यो तर पनि दुवै जनाको कमाइले गुजरा चलाउनै धौधौ हुन्थ्यो । नन्दालाई लाग्थ्यो अरु पेशा गर्न पाए गुजरा सजिलै चलाउन सकिन्छ कि । मजदुरी गरेको पैसा पनि खाना खर्च कटाएर बचाउने गर्नुभएकी उहाँले सिलाइकटाइ तालिम लिएपछि कपडा सिलाउने उपकरण किन्नुभयो । यो कामले पहिलाको भन्दा केही राहत भएको नन्दालाई अनुभूति हुँदै गयो । सिलाइकटाइ गर्न थालेपछि छोरा छोरीलाई पढाउन लेखाउन अलि सहज भयो ।

व्यवसायमा सफलता प्राप्त हुँदै गएपछि त्यसलाई बढाउन मन लाग्यो उहाँलाई । नन्दाले विसं २०६७ मा विनिता होजियारी व्यवसाय दर्ता गरेर व्यवसाय गर्दै आउनुभएको छ । उहाँले त्यहाँ अडरका विभिन्न डिजाइन, लेडिज र जेन्सको लागि स्वीटर, ड्रेसका स्वीटर, महिलाले लगाउने प्लाजोलगायत पोशाक तयार गर्दै आउनुभएको छ । उहाँले तयार पार्नुभएको पोशाक अहिले सुर्खेतका बजार, दैलेख र नेपालगञ्जसम्म पुग्ने गर्दछ । “अहिले हामीले तयार गरेको सामानको बजारमा एकदमै बढी माग भइरहेको छ, पु¥याउनै भ्याइनभ्याइ छ”, नन्दा भन्नुहुन्छ, “बजारमा जति सामानको माग भएको छ, त्यसअनुसार पुर्‍ययाउन सकिएको छैन ।”

उहाँलाई अहिले वीरेन्द्रनगर नगरपालिकाले दुईवटा ठूला होजियारी उपकरण सहयोग गरेपछि व्यवसाय पनि बढेको छ । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत नन्दालाई उक्त उपकरण सहयोगस्वरुप उपलब्ध गराइएको नगरपालिकाका महिला तथा बालबालिका शाखाका ज्योति केसी बताउनुहुन्छ ।उहाँले विभिन्न पसलमा होलसेल मूल्यमा सामान पठाउँदै आउनुभएको छ । अहिले

व्यवसायमा नन्दा र श्रीमान् दुबैले काम गर्दै गर्दा नभ्याएपछि थप तीन कामदारसमेत राखिएको छ । “हामीले मात्र व्यवसाय धान्न सकेनाँै अहिले तीन महिला पनि राखेकी छु”, नन्दा भन्नुहुन्छ, “उहाँहरु पनि आर्थिक अवस्था कमजोर भएका दीदीबहिनी हुनुहुन्छ, विगतमा आफैँले पनि धेरै दुःख पाएकाले यस्तै दुःख पाएका महिलालाई काम गर्न राखेको हुँ ।”

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय