दुई वर्षदेखि कानुन बन्न सकेन : मन्त्री शर्मा

  जेठ २०, २०७९

चितवन, जेठ २० : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले दुई वर्षदेखि कानुन बन्न नसकेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संसद् अवरुद्ध हुँदा कानुन बन्न नसकेको बताउनुभएको हो ।

कोइरालाले अहिले ५३ वटा विधेयक संसद्मा दर्ता भएर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट अधिवेशन भएपनि यसलाई विधेयक अधिवेशन जस्तै गराउने, सबै विधेयकहरु यही अधिवेशनमा छलफल गराउने र त्यहाँबाट पास गर्नेछ ।” पहिलो प्राथमिकता नागरिकतासम्बन्धी विधेयक रहेको भन्दै उहाँले लामो समयदेखि यो अबरुद्ध भएर बस्दा समस्या भएको बताउनुभयो । निजामती ऐन कस्तो बनाउने भन्ने विषयमा विधेयक बनिसकेको भन्दै संसद्मा ल्याउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । संसद्मा पेस भएका विधेयकलाई पास गराउँदै जाने र अन्य विधेयकलाई पनि छिटो ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

उहाँले मुलुकमा अपराध घटना धेरै हुँदा त्यसलाई समयमा नै सम्बोधन गर्ने दायित्व सरकारको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अपराधलाई सम्बोधन गर्नका लागि हामीसँग भएका कानुनले जे जति सम्बोधन गरेको छ त्यो छदैछ”, उहाँले थप्नुभयो, “हदम्यादका कारणबाट केही घटनालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ । हदम्याद कसरी बनाउने, कस्तो बनाउने भनेर कानुन आयोगले भन्ने छ ।” यस विषयलाई अनुसन्धान गरेर प्रतिवेदन दिन आफूले भनिसकेको उहाँले जानकारी दिनुभयो । प्रतिवेदन अन्तिम तयारीमा रहेको भन्दै उहाँले प्रतिवेदन आईसकेपछि सरोकारवालासँग छलफल गरीने बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा विचारका कारणले विभिन्न मतभेद हुने भन्दै मन्त्री कोइरालाले केही मुद्धाहरुमा भने दलहरुले विभेद राख्नु पर्ने त्यस्तो कुनै आवश्यकता नहुने बताउनुभयो । यौनजन्य हिसां, नागरिकताको विषय सबै दलको सरोकारको विषय भएको भन्दै उहाँले यी विषयमा दलको सहमति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “दलहरु बीचमा सहमति हुन्छ र ती कानुनहरु पास गर्छौं ।”

संङ्क्रमणकालिन न्यायका लागि स्वतन्त्र ढङ्गले छानबिन हुने उहाँले बताउनुभयो । देशभर परामर्श गोष्ठी गर्दै गरेको भन्दै उहाँले भन्नुभयो “कस्तो कानुन बनाउने, कानुनमा के कस्ता कमजोरी छन्, त्यसमा सुधार गरेर सङ्क्रमणकालिन न्यायलाई टुङ्गोमा कसरी पु¥याउने भन्ने पक्षमा सरकार छ ।” सङ्क्रमणकालिन न्याय र परिपुरणका लागि रु १ अर्ब ४० करोड सरकारले विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । चितवनको बाँदरमुढे सहित देशभरी द्धन्द्धको समयमा भएका घटनाको संम्बोधन हुने मन्त्री कोइरालाले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय