‘छुवाछूत ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’

  जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि भएका ऐन-कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना जनाउनुपर्ने बताउनुभएको छ । सत्रौँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ का अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधानका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संविधान र कानूनमै छुवाछूत र भेदभावविरुद्धको व्यवस्था भए पनि त्यसको व्यवहारमा लागू नभएका सन्दर्भमा दलित समुदायको समस्या समाधान गर्दै समानतामा आधारित सभ्य समाज निर्माणका निम्ति सिङ्गो राष्ट्र नै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कसैलाई पनि जातका आधारमा विभेद गर्न नहुने उहाँको भनाइ छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले समृद्ध नेपाल निर्माणका निम्ति सबैभन्दा पहिला दलित समुदायले सदियौँदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्यालाई सादका निम्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । दलित समुदायले भोग्दै आएको समस्या समाधानका निम्ति आफू लागिपरेको र आगामी दिनमा समेत प्रतिबद्धरुपमा लाग्ने उहाँको भनाइ थियो ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसक्दा दलित समुदायले चरम समस्या भोग्नुपरेको बताउनुभयो । मानवीय शोषण, छुवाछूत तथा भेदभाव अन्त्यको घोषणा गर्दै सरकारले २०६३ सालमा प्रत्येक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

सोहीअनुरुप जेठ २१ गते नेपालमा जाति भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै आएको छ । विसं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूतमुक्त राष्ट्रको घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितता गरिएको थियो । दिवसको अवसर पारेर आजै दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जिवनीमा आधारित ‘सर्वजीत’ नामक चलचित्रको शुभ मुहुर्तसमेत गरिएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय