पर्वतारोहण सङ्घले पाँच वर्षमा के–के काम गर्‍ययो

  जेठ २४, २०७९

काठमाडौँ, जेठ २४ : पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको पछिल्लो नेतृत्वले झण्डै पाँच वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरेको छ । विसं २०७४ मा सन्तवीर लामाको नेतृत्वमा चयन भएको सङ्घको कार्यसमितिले कोभिड–१९ महामारीको असहज परिस्थितिकाबीच केही स्मरणयोग्य काम गरेको जनाएको छ ।

सङ्घको कार्यसमितिले अन्तिम अवधिसम्मको कामबारे पत्रकार सम्मेलन गरी पर्वतारोहणमा पदप्रदर्शक उत्पादन, पर्वतारोहण प्रवद्र्धन, जनशक्ति अभिमुखीकरण, सामाजिक उत्तरदायित्वलगायत काम गरेको जनाएको छ । तीनवर्षे कार्यकाल रहेको सङ्घमा कोभिड तथा संस्थाभित्रको मुद्दा मामिलाका कारण करिब दुई वर्ष लम्बिएको थियो । संस्थाभित्र अघिल्लो नेतृत्वले विभिन्न विषयमा ३० भन्दा बढी मुद्दा चलाएर सङ्घको शाख गिराउने कार्य गरेको पत्रकार सम्मेलनमा पदाधिकारीले गुनासोसमेत गरेका थिए ।

सङ्घका अध्यक्ष लामाले असहज अवस्थामा पनि केही राम्रा काम गरिएको र कतिपय कार्यक्रम पाइपलाइनमा रहे पनि कार्यान्वयन हुन नपाएको बताउनुभयो । उहाँले संस्थाको गरिमालाई धुमिल हुने गरी पूर्व नेतृत्वले गतिविधि गरेर संस्थाको शाखलाई कमजोर तुल्याएको बताउनुभयो ।

सङ्घका महासचिव कुलबहादुर गुरुङले कोभिडको त्रासले कतिपय योजनाबद्ध कार्यक्रम कार्यान्वयन हुन नसकेको बताउनुभयो । तथापि नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारका काम गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार माउन्टेन गाइड कोर्ष, हाइ अअिल्टच्युड ट्रेनिङ, स्कीजस्ता कार्यक्रम गरिएको छ ।

सङ्घले हालसम्म ५३४ एडभान्स माउन्टेनरिङ गाइड तथा ६०० भन्दा बढी आधारभूत माउन्टेन गाइड उत्पादन गरेको छ । सङ्घका सचिव टीकाराम गुरुङले १०० वर्षे पर्वतारोहण इतिहास र सङ्घको ५० वर्षे अनवरत यात्राका दौरान पर्वतीय पर्यटन प्रवद्र्धन, दक्ष जनशक्ति उत्पादन र नेपाललाई पर्वतारोहणको माध्यमबाट विश्वभर पहिचान गराउने काम भएको बताउनुभयो ।

सङ्घको यही जेठ २७ र २८ गते हुने केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ । निर्वाचन कार्यतालिकाअनुसार २७ गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ । उम्मेदवारका लागि मनोनयन भने आज १ः३० देखि ४ बजेसम्म तोकिएको छ । सर्वसम्मत नेतृत्वका लागि पहल भइरहेको र यसपटक सम्भवत निर्वाचन नभई सहमतिमा नेतृत्व चयन गरिने सङ्घका महासचिव गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय