सात वर्षीया बालिकाको शव भेटियो

  जेठ २४, २०७९

सुर्खेत, जेठ २४ : चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी सात वर्षीया बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।

वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी बनेकी उनी सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दूरीमा आज बिहान फेला परेको हो ।

आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष  लालबहादुर पुनले बताउनुभयो ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय