मन्त्रीलाई पार्टीले ६ महिना समय दिएको थियो : नेपाल

  जेठ २५, २०७९

काठमाडौं, जेठ २५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका मन्त्रीलाई छ महिनाको समय दिइएको खुलाउनुभएको छ।

काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित विद्यार्थी विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीका मन्त्रीले आठ महिनासम्म बसेर काम गरिसक्नुभएको बताउनुभयो। सरकारमा हुँदा राम्रा काम गर्नुभएका मन्त्रीलाई धन्यवाद दिनुहुँदै उहाँहरुले पार्टीको निर्णयभन्दा तलमाथि जान नसक्ने बताउनुभयो।

“छ महिनाको अवधि दिइएको थियो, आठ महिनासम्म काम गर्ने अवसर मिलेको छ। ज-जसले राम्रो काम गरेका छन्, सबैलाई धन्यवाद। उहाँहरुले पार्टीको निर्णय पालना गर्ने र मन्त्रीको लोभ छैन, हामी कुर्सीमा टाँसिनेवाला छैनौं भनेर भनिसक्नुभएको छ”, उहाँले भन्नुभयो।

उहाँले संविधानलाई मास्ने प्रवृत्ति रोक्न राजनीतिक कोर्स परिवर्तन गर्नुपर्ने स्थिति बनेको र कम्युनिष्ट पार्टीभित्रको गलत प्रवृत्तिको मुकाबिला गरेको बताउनुभयो। “यसका लागि गठबन्धन कायम गरेका छौं। कति फाइदा र नोक्सान भएको विवेचना गरेका छौं। तर, अवश्य फाइदा भएको छ, पोखरा महानगरमा शानदार जित हासिल गरेका छौं।”, उहाँले भन्नुभयो, “कमजोरी के भयो भने गठबन्धनको भरोसा धेरै गर्‍यो र कतिपय ठाउँमा धोका पनि पायौं।”

उहाँले आगामी दिनमा पार्टी निर्माणसँगै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जुट्नुपर्नेमा जोड दिनुभयो। संसदीय निर्वाचन मंसिरमा हुने कुरा ध्यानमा राखेर चुनाव चिह्नबारे जनतालाई जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो।

गठबन्धनको भविष्य छैन भनेर कुप्रचार भइरहेको भन्नुहुँदै उहाँले आपसी अविश्वास कसरी बढोस् भनेर अनेक चलखेल भएको हुनसक्ने समेत प्रष्ट्याउनुभयो। तर, इमानदारीता र अडानपूर्वक गठबन्धनलाई अगाडि बढाइने उहाँले बताउनुभयो।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय