फुकोट–कर्णालीको इआइए अन्तिम चरणमा

  जेठ २६, २०७९

मान्म, जेठ २६ : अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ ।

विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाले ईआइए स्वीकृति माग गरेको हो ।

सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाका प्रमुख हीरामान वाइबाले बताउनुभयो । उहाँले भन्नुभयो, “अब लगानीको मोडालिटी टुङ्ग्याउन पाए निर्माणको काममै जान सक्छौँ ।”

आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइवाले बताउनुभयो । “आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ”, उहाँले भन्नुभयो, “आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए)का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ ।”

फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालीकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित क्षेत्र हुनेछन् । यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका–३ मा हुने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय