गलकोट क्षेत्रमा पहिरा : घरगोठ र पशुधनको क्षति

  जेठ २६, २०७९

बागलुङ, जेठ २६ : दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो । ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म क्षतविक्षत बनेका छन् ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्‍ययाएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो । गोठ र पशुचौपायासमेत गर्दा खड्काको रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

उहाँका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पुर्‍ययाएको छ । “साविक वडा नं ३ का अधिकांश घर जोखिममा छन्, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरा खसेका छन्”, उहाँले भन्नुभयो, “गाउँबाट झरेको गेगर र बाढी पसेर खोला छेउछाउको खेत पनि पुरेको छ ।”

बाढी पस्दा खेतमा भर्खर लगाएको धानबाली पनि नष्ट भएको छ । जोखिम न्यूनीकरण गर्ने र विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन नगरबाट पहल भइरहेको जनाइएको छ । पहिराका कारण गए रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग दिउँसोदेखि खुलेको नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

वडा नं १ को भुङ्खानी र काफलठुटा क्षेत्रमा खसेका पहिराले यातायात सञ्चालनमा अवरोध खडा गरेको थियो । बिहानैदेखि लोकमार्ग भएर चल्ने सवारीसाधन बाटैमा अलपत्र परेका थिए । यात्रुले सास्ती खेप्नुपरेको थियो । लोकमार्ग आयोजना, नगरपालिका, नेपाल सेना, स्थानीयलगायत मिलेर पहिरा पन्छाएपछि यातायात सेवा सञ्चालन भएको हो ।

गलकोट –१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घरहरू जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ । बाढीले स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयवासीले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहनुभएका नगरका प्रवक्ता भण्डारीले बताउनुभयो ।

वडा नं ३ को हटियाबजार, ४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पु¥याएको छ । नाली थुनिएर हटियाका घर, पसल र होटलमा भल छिरेको थियो । बाढीले मुख्य सडकदेखि ग्रामीण भेग जोड्ने सडक पनि भत्किएका छन् । पुष्पलाल लोकमार्ग खण्डमा ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । यात्रा जोखिमपूर्ण बनेको छ । कतै रुख ढलेर सडक छेकेका छन् । गलकोट–बागलुङ चल्ने जिपका चालक राजेन्द्र विकले पहिरा छल्दै यात्रा गर्नुपरेको सुनाउनुभयो ।

यसै त रुग्ण बनेको लोकमार्गको बागलुङ–गलकोट खण्डलाई बाढीपहिराले थप बिगारेको उहाँको भनाइ छ । विकका अनुसार त्यस खण्डका दर्जनौँ ठाउँमा पहिरा खसेका छन् । तत्काल लाई पहिरा पन्छाएर यातायात सञ्चालन गरे पनि सडकको दीर्घकालीन सुधार हुनुपर्ने स्थानीयवासीको माग छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय