देवनागरी लिपि मास्ने कार्य असंवैधानिक

  जेठ २६, २०७९

काठमाडौं, जेठ २६ : राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मास्ने र राष्ट्रियता कमजोर पार्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उहाँले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कडाइका साथ कारबाही गरी समाजलाई सुरक्षित बनाउनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले दण्डहीनताको अभावमा महिला हिंसा बढदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य कमला पन्तले मलको अभावले किसानलाई समस्या परेकाले त्यसको सहज आपूर्ति गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि किसानलाई राहत दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विसं २०७५ भदौको सर्वोच्चको फैसला कार्यान्वयन गरेर विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनीहरुले पठाएको विप्रेषणबाट मुलुकको अर्थ व्यवस्था सञ्चालन भइरहेको बताउनुभयो ।

अर्का सदस्य सुमित्राकुमारी बिसीले नागरिकता अभावमा अवसरबाट बञ्चित भएकालाई व्यवस्थित गर्न नागरिकता विधेयक ल्याउनुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा शैक्षिक सामग्री पुग्न नसकेकाले पठनपाठनमा असजिलो भएको बताउँदै सम्बन्धित पक्षलाई संवेदनशील बन्न सुझाव दिनुभयो ।

किसानलाई मल र बीउको अभाव भएको, चैतेधान बालीको बजारभाउ ढुटोभन्दा कम भएकाले समायोजन हुनुपर्नेमा जोड दिँदै उहाँले त्रिशूलीलगायत नदी आसपासका अव्यवस्थित बस्तीले नदी प्रदूषित भएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।अर्का सदस्य नरबहादुर विष्टले अपरकर्णाली परियोजनाको कार्य निर्धारित समयमा पूरा नगर्ने जिआरएम कम्पनीको इजाजत खारेज गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय