सडक भासिएको ठाउँमा दुईजनाको शव फेला

  जेठ २७, २०७९

तनहुँ, जेठ २७ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन खण्डमा सडक भासिएको स्थानमा दुईजनाको शव फेला परेको छ ।

शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको थियो । निरन्तर परेको वर्षाका कारण सडक भासिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले कारमा यात्रारत दुई यात्रुको शव फेला परेको जानकारी दिनुभयो । प्रमुख नेपालका अनुसार सडकबाट कार र मोटरसाइकल खसेपछि उद्धार गर्ने क्रममा दुई पुरुषको शव फेला परेको र सनाखत हुन बाँकी छ ।

बा १० च ४६७६ नम्बरको कारलाई पहिरोले पुर्दा मृत्यु भएको हुन सक्ने नेपालको भनाइ छ । सडक भासिएसँगै बिहान ५ बजेदेखि पूर्णरुपमा यातायात अवरुद्ध भएको छ ।

सडक भासिएर मर्स्याङ्दी नदीमा खसेकोले जोखिम भएकाले दुबैतर्फी यातायात बन्द गरिएको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल कुरिनटारको गणबाट आएको विपद् उद्धार टोलीले सडक भासिएर मर्स्याङ्दी नदीमा खसेको कारबाट उद्धार गर्ने क्रममा दुईजना मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासिन्दाले उद्धार गरिरहेका छन् । उक्त राजमार्ग खुल्न केहि दिन लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

सडकको धेरै भाग भासिएर नदीमा खसेकाले यातायातका साधन सुचारु गराउन लामो समय लाग्ने ट्राफिक प्रमुख नेपाल बताउनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय