औद्योगिक ग्राम निर्माण सुरु गरेकालाई पहिलो प्राथमिकता’

  जेठ २७, २०७९

बनेपा, जेठ २७ : बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्यले प्रदेश मन्त्रालयले निर्माण सुुरु गरेको औद्योगिक ग्रामलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित ठूलीचौरमा रहेको निर्माणाधीन नमूना औद्योगिक ग्रामको अनुगमन गर्दै उहाँले आर्थिक वर्ष २०७९÷८० को बजेटले औद्योगिक ग्रामलाई बढी मान्यता दिएर काम गर्ने उद्देश्यले योजना अगाडि सारेको बताउनुभएको हो ।

निर्माण सुुरु गरेका औद्योगिक ग्रामलाई छिट्टै सम्पन्न गर्नुपरेका कारण स्थानीय सरकारले पनि त्यस्ता आयोजनालाई जोड दिन उहाँले आग्रह गर्नुभयो । “निर्माण थालनी गरेको क्षेत्रमा धेरै जग्गा खाली छ, त्यसलाई उब्जनी गर्ने भनेको उद्योग स्थापना गरेर सञ्चालनमा ल्याउनु हो”, उहाँले भन्नुभयो, “आफ्नो ठाउँ अरु कसैले बनाउने नभई आफँैले बनाउने भएका कारण त्यसका लागि बजेट आउने भएकाले निर्माणलाई तीव्रगति दिन आवश्यक छ ।”

यसअघिको आर्थिक वर्षमा छुट्याएको बजेट कार्यान्वयन नहुँदै फ्रिज गएका कारण यस वर्षमा पनि योजना बनाएर पठाउनका लागि उहाँले नगरपालिकालाई आग्रह गर्नुभयो । नगर प्रमुख टोकबहादुर वाइबाले औद्योगिक ग्राम निर्माणका लागि प्रदेश सरकारको बजेटबाट सो क्षेत्रको ७० रोपनी क्षेत्रमा घेराबार, पाले घर निर्माण र भिरालो जग्गालाई सम्याउने काम भइसकेका कारण अब बाँकी संरचना निर्माणको कामलाई तीव्रता दिन पहल गरिरहेको बताउनुभयो ।

“यसअघि भएको कामलाई थप अगाडि बढाउनका लागि सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेतृत्वले पनि यस ठाउँको अनुगमन गरिसकेका कारण निर्माण सम्पन्न गर्नका लागि थप प्रक्रिया अगाडि बढ्नेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय मन्त्रालय, प्रदेश मन्त्रालय र नगरपालिकाको साझेदारीमा नमूनाका रूपमा निर्माण गर्न हामी लागिरहेका छौँ ।”

यहाँका खेतीयोग्य जमिन, पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेका कारण औद्योगिक ग्राम निर्माण आवश्यक र अपरिहार्य रहेको उहाँले बताउनुभयो । सो क्षेत्रमा औद्योगिकग्राम निर्माणपछि बेरोजगार युवाका लागि रोजगारीको व्यवस्था गर्नका निमित्त पनि त्यसलाई पूर्णता दिन आवश्यक रहेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्र पूर्णता दिने गरी काम गर्ने प्रमुख वाइबाले बताउनुभयो ।

नगरपालिकाका इञ्जीनियर निर्मलराज गौतमले उद्योग गर्न चाहनेका लागि ठाउँ निर्माण गरिदिने भएकाले सो ठाउँमा सुरक्षा गार्ड घर, प्रशासनिक भवन, सेवा केन्द्र, चमेनागृह औद्योगिक क्षेत्रका लागि आधारभूत भौतिक संरचना निर्माण गर्ने योजना रहेको बताउनुभयो । सबै एकद्वार प्रणालीबाट नै सञ्चालन हुने भएकाले सो क्षेत्रभित्र १० वटा ब्लक निर्माण भएर व्यवस्थित औद्योगिक ग्राम निर्माण हुन लागेको उहाँले बताउनुभयो ।

नगरपालिकाले आवश्यक जग्गा व्यवस्थापनको कार्य गरेपछि औद्योगिक ग्रामको निर्माण सुरु गरिएको यो क्षेत्रमा प्रदेश सरकारको आर्थिक सहयोगमा त्यहाँ रहेको करिब ७७१ रोपनी खाली सार्वजनिक जग्गामा औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढाइएको हो । पहिलो चरणमा अहिले सो क्षेत्रमा ७० रोपनी जग्गा सम्याएर आवश्यक तारबार र एक तलाको दुईकोठे सुरक्षा गार्ड बस्ने घर निर्माण गरिसकिएको छ ।

यसअघि आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारको रु ७७ लाख आर्थिक सहयोगमा सुरु भएको आयोजना अब आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनाका रूपमा प्रक्रिया अगाडि बढेको छ । उद्योगीलाई सुरक्षित तरिकाले जमिन तथा भवन बनाइदिइसकेपछि उहाँहरूलाई पनि लगानी गर्न सजिलो हुने र सयौँ जनाले रोजगारी पनि पाउने अवस्था सिर्जना हुने आशा गरिएको छ । सो क्षेत्र काठमाडौँबाट अरनिको राजमार्ग हुँदै ३६ किलोमिटर र भक्तपुर भएर नगरकोट हुँदै जाँदा २६ किलोमिटरको दूरीमा रहेको छ ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, जिल्लाभित्रकै पाँचखाल नगरपालिका र भक्तपुर तथा काठमाडौँसँग पनि जोडिएको क्षेत्र भएका कारण पनि औद्योगिक क्षेत्रको निकै सम्भावना बोकेको सो नगरपालिका रहेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय