मेयर र सिडियो ‘रोपार’ बनेपछि

  असार १६, २०७९

बागलुङ, असार १६ : ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए । पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिर्नुभयो । रोपार उहाँको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो ।

प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर प्रजिअ ढकालले छुपुछुप धान रोप्न थाल्नुभयो । सँगै गएका रोपारले पनि लाइमेली गरे । केहीछिनमै बागलुङ नगरका प्रमुख बसन्तकुमार श्रेष्ठ पनि खेतमा पुग्नुभयो ।

बीचमा अरु पनि थपिदैँ गए । हेर्दाहेर्दै रोपारले खेत ढाकिएझैँ भयो । कोही साँच्चिकै रोपार थिए त कोही रहरले खेत पसेका थिए । रोपाइँको मेलोमा मेयरदेखि बैंकका कर्मचारीसम्म देखिन्थे । खेतको उपल्लो गरामा असारे भाकामा पञ्चेबाजा घन्किरहेको थियो । ७२ वर्षीय टीकाबहादुर रोकाले असारे गीत भट्टाउँदै हुनुहुन्थ्यो ।

गीतमा कम्मर मर्काइमर्काइ रोपारहरु धान रोपिरहेका थिए । हिलो छ्यापछ्यापले पनि रोपाइँमा रौनक थपिरहेको थियो । हाँस्दैखेल्दै रोपारले छिनभरमै फाँटकै ठूलो गराको रोपाइँ सके । यो दृश्य बुधबार अपरान्हतिरको हो ।

१९ औँ राष्ट्रिय धान दिवसको मौकामा कृषि ज्ञान केन्द्रले बागलुङ नगरपालिका–८ सिगाना, ओखलढुङ्गा फाँटमा रोपाइँ उत्सवको आयोजना गरेका थियो । त्यसकै छेकोमा नगरप्रमुख र प्रजिअलगायतले रोपारा बनेर धान रोपेका हुन् ।

नगरप्रमुख श्रेष्ठ र प्रजिअ ढकालले महिला रोपारहरुको लहरमा मिसिएर धान रापेको दृश्य रमाइलो देखिन्थ्यो । अन्यत्रको कार्यक्रममा जानुपर्ने भएपछि नगरप्रमुख केही अघि निस्केपनि प्रजिअ ढकाल भने अन्तिमसम्मै रोपाइँमा सामेल हुनुभयो ।

“सुरुमा पनि मैले रोप्न सुरु गरेँ र अन्तिमसम्म टिके पनि, सानैदेखि खन्ने, जोत्ने गरेकाले यस्तो काममा रुची जाग्छ”, प्रजिअ ढकालले भन्नुभयो, “घरायसी कामकाज गर्न मलाई मन पर्छ, कुनै पनि काम महिला या पुरुषले मात्र गर्ने भनेर म सोच्दिन, सेलरोटी पकाउन पनि जानेको छु ।”

उहाँले किसानको सम्मान र प्रोत्साहनका लागि आपूm रोपाइँ उत्सवमा सहभागी भएको बताउनुभयो । “कृषि पेशाप्रति आकर्षण बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्छ, धान दिवसलाई उत्सवकै रुपमा मनाउने सकारात्मक परम्पराको सुरुआत भएको छ ।”

बागलुङ–३ का अगुवा किसान मतिलाल सापकोटाले पहिलेपहिले यसरी धान दिवस मनाउने चलन नभएको सुनाउनुभयो । “पछिल्लो समय रोपाइँ उत्सव गर्ने, दिवस मनाउने चलन आयो, यसले सबैसँग भेटघाट हुने मौका पनि दिएको छ, रमाइलो पनि हुन्छ”, ७४ वर्षीया सापकोटाले भन्नुभयो ।आयोजकले रोपाइँ उत्सवमा सहभागीलाई असार १५ को परिकार दहिचिउरा पनि चखाएको थियो । स्थानीय माया खड्काको खेतमा रोपाइँ उत्सवको आयोजना गरिएको हो ।

रोपाइँ उत्सवका नाममा धान दिवसलाई रङ्गरमाइलो गर्ने थलो मात्र बनाउन नहुनेमा किसान समुदायबाट आवाज पनि उठ्ने गरेको छ । राज्यले किसानलाई प्रोत्साहन मिल्ने नीति र योजना ल्याउनुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले धान नेपालको प्रमुख र महत्वपूर्ण खाद्यन्न बाली भएको बताउनुभयो ।

“हाम्रो भान्छाका परिकारदेखि जन्म, मृत्यु संस्कार र चाडपर्वमासमेत चामाल नभई हुँदैन, नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिले ओगट्ने ३० प्रतिशतमा १५ प्रतिशत योगदान धानको मात्रै छ”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी उपभोग हुने, महत्व पनि भएको बाली भएकाले विसं २०६१ देखि धान दिवस मनाउन सुरु गरिएको हो ।

” यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रति स्थापनमा सहयोग’को सन्देशसहित धान दिवस मनाइएको प्रमुख भट्टराईको भनाइ छ । केन्द्रका अनुसार जिल्लाको कुल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । मध्य असारसम्ममा यहाँ ४० प्रतिशत रोपाइँ भएको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय