विपद् प्रतिकार्य योजना कार्यान्वयन गर्न निर्देशन

  असार १९, २०७९

कर्णाली, असार १९ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गर्दै प्रशासनले मनसुन सक्रिय भएसँगै विपद्जन्य जोखिममा सतर्कता अपनाउन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकमार्फत मातहतका सुरक्षा इकाईलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो । “प्रतिकार्य योजना बमोजिम स्थानीय तहलाई विपद् फोकल पर्सन तोक्न, विपद्जन्य घटनाको अभिलेख राख्न, उद्धार टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ,” उहाँले भन्नुभयो, “स्थानीय तहले विपद् फोकल पर्सन तोकिसकेका छन्, पूर्व तयारी तथा उद्धारका लागि खटिने सुरक्षा निकाय, स्वयंसेवक लगायतसँग समन्वय गरेर भौतिक तथा मानवीय क्षति हुन नदिन सतर्कता अपनाइएको छ ।”

विपद् प्रतिकार्य योजनामा प्रदेशस्तरमा आपतकालीन उद्धार तथा सूचना सङ्कलन केन्द्र, जिल्ला र स्थानीय तहमा विपद् व्यवस्थापन समिति क्रियाशील हुन्छ । वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा प्रतिकार्य योजना कार्यान्वयन गर्न प्रशासनले निर्देशन दिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सुर्खेतका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबँेशी नगरपालिका, भेरी गङ्गा नगर पालिका, वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका बाढीको जोखिममा छन् भने चिङगाड गाउँपालिका पहिरोको जोखिममा छ । वीरेन्द्रनगरमा स्थानीयवासीले खोलानाला अतिक्रमण गरी घरटहरा निर्माण गरेकाले डुबानको खतरा छ ।

गुरुयोजना विपरीत संरचना निर्माण हुँदा यहाँको तल्लो तटीय क्षेत्र सामान्य वर्षातमा पनि डुबानमापर्ने गरेको छ । जिल्ला प्रशासनले जल तथा मौसम विज्ञान विभागबाट दैनिक जारी हुने मौसमसम्बन्धी बुलेटिन तत्काल सम्भावित जोखिमयुक्त क्षेत्रमा पठाउँदै आएको छ । त्यस्तै सशस्त्र प्रहरी बल रक्तकाली गण सुर्खेतले विपद्जन्य घटनाको उद्धारका लागि विशेष तालिम प्राप्त ३५ सशस्त्र प्रहरीका साथै ६ गोताखोर टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।

सुर्खेत चुरे र महाभारत शृङ्खलाको बीचमा अवस्थित कमजोर धरातलबाट बनेको जिल्ला हो । यस कारण पनि वर्सेनि मनसुनजन्य विपद्को उच्च जोखिममा रहने गर्दछ । यहाँको करिब ४३ प्रतिशत भू–भाग महाभारत शृङ्खलामा पर्दछ । पूर्वको राकमदेखि पश्चिमको घाटगाउँमा भेरी तटीय क्षेत्रका १९ बस्ती बाढीको उच्च जोखिममा पर्छन् । विसं २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले ती बस्तीका एक हजार ४६५ घर पूर्ण रुपमा बगाउनुका साथै ८६४ घरमा आंशिक क्षति पु¥याएको थियो । उक्त बाढीले १२५ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय