सिंहदरबार वैद्यखानाका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन

  असार २०, २०७९

काठमाडौँ, असार २० ; सिंहदरबार वैद्यखाना विकास समितिमा लामो समयदेखि सिर्जना भएको समस्या समाधानका लागि सुझाव दिन अधिकृत कर्मचारी ऋषिराज रेग्मीको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ ।कार्यदलको सदस्यमा सतीश पौडेल, रुन्धताकुमारी खरेल, डा विनोद साह, डा हरिदेवप्रसाद यादव र राम प्रवेशप्रसाद जयसवाल रहनुभएको निमित्त कार्यकारी निर्देशक डा श्यामबाबु यादवले रासस लाई जानकारी दिनुभयो ।

समितिबाट औषधि उत्पादन बन्द भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार यादवलाई निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो । उत्पादन बन्द भएपछि समितिका कर्मचारीले चार महिनादेखि तलबसमेत पाएका थिएनन् । यादव कार्यालयमा हाजिर भएको एक सातामा त्रिफलाबाट गत शुक्रबारदेखि औषधि उत्पादन सुरु गरिएको छ । कर्मचारीले आइतबार नै चार महिनाको तलब पनि पाएका छन् ।

बाँकी समस्या समाधान गरी कार्यालयलाई सुव्यवस्थितरुपमा अघि बढाउन सुझाव सहितको प्रतिवेदन दिने म्यान्डेट कार्यदललाई दिइएको छ । कार्यदललाई असार अन्तिम सम्म प्रतिवेदन बुझाउने समय दिइएको पनि निमित्त कार्यकारी निर्देशक यादवले सुनाउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय