प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे संसदमा छलफल हुन्छ : कानुनमन्त्री

  असार २०, २०७९

काठमाडौं, साउन २० : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेकाबेला उहाँको यस्तो भनाइ आएको हो ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसद्मा सो महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाइ हुन गएको जिकीर समेत गर्नुभयो ।

मन्त्री कोइरालाले सो महाअभियोग प्रस्ताव संसद्मा छलफल गराउन संघीय संसद्को कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारीसमेत दिनुभयो ।

मन्त्री कोइरालाले भन्नुभयो, “संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पारित भइसकेको छ । अब बजेट पारित भइसकेपछि बाँकी रहेका विधेयकहरु आउँदैछ ।” महाअभियोगलाई पनि छिट्टै संसदमा छलफल गराउँने उहाँले बताउनुभयो । संसदमा छलफल गराउने कुरामा चाहिँ कार्य व्यवस्था परामर्श समितिमा छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरु के–के हुन, आरोपसँग सम्बद्ध प्रमाणहरु के–के हुन ? त्यसबारे संसद्मा छलफल हुन्छ ।’’

मन्त्री कोइरालाले महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएका आरोपहरुबारे व्यापक छलफल हुने बताउनुभयो । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आवद्ध ९८ जना सांसदहरुले गत फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । मन्त्री कोइरालाले प्रधानन्यायाधीश जबरा निलम्बित भएपनि उहाँको सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले गरिरहनु भएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय