अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा

  असार २३, २०७९

काठमाडौँ, असार २३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अनौपचारिक, स्व रोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गर्नुभएको हो ।

अहिले औपचारिक क्षेत्रका श्रमिक मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । हालसम्म कोषमा तीन लाख ४४ हजार २४८ योगदानकर्ता र १७ हजार १५६ रोजगारदाता कोषमा आबद्ध भइ सकेका छन् । कोषले आगामी आवदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि कोषको दायरामा ल्याउने गरी कार्यविधि निर्माण गरिरहेको छ । कार्यविधि अन्तिम चरणमा रहेको कोषले जनाएको छ ।

मन्त्री कुँवरले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताउनुभयो । कोष ले हाल योगदानकर्तालाई चार प्रकारका सुविधा दिँदै आएको छ । योगदानकर्ताले कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा, दुर्घटना तथा अशक्तता सुविधा, आश्रित परिवार सुविधा र अवकाश सुविधावापत आर्थिक सहयोग प्राप्त गर्दै आएका छन् ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउन कोषले सहुलियत कर्जा प्रवाह गर्ने बताउनुभयो । कोषले आगामी भदौ १ गतेदेखि योगदान कर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने जनाएको छ ।

कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले श्रमिकको जीवनमा आइपर्ने जोखिम कम गर्न कोषले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अघि सारेको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय