जामुने–कोत्रेका संरचना हटाउन मुआब्जा वितरण

  असार २३, २०७९

दमौली, असार २३ : मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेसम्मका संरचना हटाउन रु दुई करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गरिने भएको छ ।

सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्डको जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाल लगायतका संरचना हटाउन उक्त मुआब्जा वितरण गर्न लागिएको हो । सडक मापदण्ड २५÷२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाललगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गर्न लागिएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपलिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका १३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

योजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीहरुलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नम्बर र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको छ ।

घर टहरा आदिको लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्तास्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाई सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज (पुर्नवास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ ।

समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहनुभएको छ । मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुख काटिएको छ । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा दुई हजार २८० रुख कटान भइसकेको छ । विसं २०२६मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन् हुँदैछ ।

यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख ४ हजार विनियोजन भएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय