म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ

  असार २४, २०७९

म्याग्दी, असार २४ : म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।

भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो । मालिका गाउँ पालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बिहीबार एकै दिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिनुभयो ।

“स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा एकाइबाट उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो, “एकाइ सञ्चालन भएपछि सामान्य बिरामी हुँदासमेत दुईदेखि तीन घण्टा पैदल हिँडेर दरवाङ पुग्नुपर्ने समस्या हटेको छ ।”

खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ । दिच्याममा १३७ र दुखुमा १०२ परिवारको बसोबास छ । गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीय वासी खुसी भएका छन् । सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको छ ।

यसअघि दुखु र दिच्यामका बासिन्दा सामान्य बिरामी पर्दा पनि सिटामोलका लागि दर वाङ पुग्ने गरेका थिए । मालिका गाउँपालिकाको वडा नं ३ डाडागाउँ र पात्लेमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय