दूधकोसीकोे पावरहाउस जाने सडक निर्माण गर्ने समझदारी

  असार २४, २०७९

खोटाङ, असार २४ : खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाबजारबाट उत्पादन गरिने दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको पावरहाउ निर्माण गरिने ठाउँसम्म पुग्ने सडक निर्माण गर्न समझदारी कायम गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण, दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबीचमा धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साढे तीन किलोमिटर कन्ट्रक्सन एक्सेस रोडको ट्याक खोल्ने समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँवाबजारबाट ६३५ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत्् आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा रहने पावरहाउससम्म पुग्ने सडक निर्माण गर्नका लागि समझदारी कायम गरिएको जनाइएको छ । रु एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जल विद्युत्् आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले दश प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङका नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

पावरहाउस निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब नौ महिनाभित्र एक्सेस रोड बनाएर सञ्चालनमा ल्याउने समझदारी–पत्रमा उल्लेख छ । लामीडाँडाको रभुँवा बजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ३० किलो मिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो ।

नेपाल सरकारले राष्ट्रिय गौरवकको आयोजनामा राखेको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाका लागि अहिले उक्त आयोजनाले ओगट्ने खोटाङ, ओखल ढुङ्गा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । आयोज ना सञ्चालन गर्दा खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहण हुने जनाइएको छ ।

जलविद्युत्् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी सार्वजनिक जग्गा अधिग्रहण हुने अनुमान गरिएको छ । खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐंसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता, ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधि ग्रहणको काम भइरहेको छ । अधिग्रहण भएका जग्गाधनीले आयोजनाले मुआब्जा दिन ढिलाइ गरेको भन्दै गुनासो समेत गरिरहेका छन् ।

आयोजनाबाट तीन जिल्लाका एक हजार १५० घरधुरी प्रभावित हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले देखाएको छ । खोटाङका ६५७, ओखलढुङ्गाका ४७९ र सोलु खुम्बुका १४ गरी एक हजार १५० घरधुरी प्रभावित हुने भएका हुन् ।

दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाका लागि नेपाल सरकारले यस वर्ष करिब रु एक करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएसँगै दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजना निर्माण हुने पक्का भएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । यसमध्ये हिउँदको समयमा एक अर्ब ३५ करोड ८० लाख र वर्षायाममा दुई अर्ब आठ करोड ४० लाख युनिट विद्युतीय ऊ र्जा उत्पादन हुने डिपिआरमा उल्लेख छ ।

जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत विसं २०४२ मा पहिचान भएको दूधकोसी जलाशययुक्त जलविद्युत््् आयोजना लामो समयपछि उत्पादनको प्रक्रिया सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । दूधकोसी जलाशययुक्त जलविद्युत््् आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै रभुँवाबजारमा बन्ने करिब २२० मिटर गहिरो दूधकोसी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दूधकोसी जलाशययुक्त आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा त्रिधार्मिक स्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोसी जलाशययुक्त आयोजना सफल पार्न खोटाङका स्थानीय बासिन्दा एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।

करिब रु दुई खर्ब लगानीमा सम्पन्न हुने दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजना पाँच वर्षभित्र सम्पन्न हुने विद्युत् प्राधिकरणले जनाएको छ । निकै ठूलो धनराशि खर्च हुने दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजना वैदेशिक ऋण सहयोग, नेपाल सरकार र वित्तीय संस्थाको लगानीमा क्रमागत रुपमा सम्पन्न गरिने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय