‘पत्रकार आचारसंहिताको पालना गरौं’

  असार २४, २०७९

काठमाडौँ, असार २४ : पछिल्लो समय पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लङ्घन बढ्दै गएकाले संहिता पालनातर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले सञ्चारकर्मी तथा पत्रकारको निम्ति आयोजना गरेको ‘पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता’सम्बन्धी दुई हप्ताको पत्रकारिता तालिम समापन कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आज भर्चुअल माध्यमबाट समापन गर्दै पत्रकारिता तथा मिडिया क्षेत्रमा आचार संहिताको उल्लङ्घन निकै बढेको देखिएको बताउनुभयो ।

उहाँले आचार संहिता उल्लङ्घन बढ्दै गएकाले काउन्सिलले केही समययता पत्रकार आचार संहितासम्वन्धि तालिमलाई व्यापक बनाउँदै लगेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “आचार संहिता उल्लङ्घन गढ्दै गएको छ, प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारसमेतलाई पत्रकार आचार संहिता अभिमुखीकरण अनिवार्य गरिएपछि भने केही मात्रामा कमी आएको छ ।”

त्यसैगरी नेपाल प्रेस इन्ष्टिच्यूटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले तालिमले आगामी मङ्सिरमा हुने सङ्घीय तथा प्रादेशिक चुनावमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो । इन्ष्टिच्यूटले विगत ३८ वर्षदेखि निरन्तर अनुशासित र कर्तव्यनिष्ट पत्रकार उत्पादनमा लागिरहेको छ ।

तालिममा पत्रकार आचार संहिता, २०७३, लैङ्गिक उत्तरदायी निर्देशिका, अपाङ्गता मैत्री निर्देशिका, बालमैत्री निर्देशिका, ज्येष्ठ नागरिक निर्देशिका, निर्वाचन आचार संहिता तथा भाषागत शुद्धीकरण र समाचार लेखनका विषयमा प्रयोगात्मक अभ्यासका साथ सघन छलफल भएको थियो । तालिमका स्रोत व्यक्तिका रूपमा वरिष्ठ पत्रकार तीर्थ कोइराला, कपिल काफ्ले, वबिता बस्नेत र बालकृष्ण बस्नेत तथा प्रशिक्षकहरू झविन्द्र भुसाल, दीपक खनाल, रामशरण बोहरा र सूर्य अर्याल हुनुहुन्थ्यो । भच्र्युयल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दाबढी जिल्लाका ३९ मिडियाकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय