ओझेलमा ओखरबोट जङ्गलका तीन ताल

  असार २५, २०७९

गलेश्वर, असार २५ : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट र बागलुङ को तमानखोला गाउँपालिकाको सिमानामा रहेका तीन ताल प्रचारप्रसार र सरोकार वालाको बेवास्ताले ओझेलमा परेका छन् ।

जङ्गलको बीच र ओखरबोट गाउँको सिरानमा पश्चिम–दक्षिणतर्फ फैलिएका पुठा, दह र सरबारी तालमा पानीको मुहान कतै देखिँदैन । तर, तीनवटै ताल खडेरी र वर्षामा सधैँ एकनास देखिन्छन् । तालमा जलहाँस पौडने र त्यसैबाट तालको सफाइ हुने स्थानीय बताउँछन् ।

ओखरबोटका स्थानीय चाम पुनका अनुसार ती जलहाँस दिनमा देखिँदैनन् तर, साँझ पख कताबाट आउँछन् र पुठा तालमा भाले र पोथी जलक्रिडा गरी त्यहाँबाट दह तालमा पुगेर तालका पातपतिङ्गर सफा गर्छन् । तालमा झरेका पातपतिङ्गर चुच्चाले टिपेर सफा गरिसकेपछि म्याग्दीको प्राकृतिक धार्मिकस्थल मालिका जाने बाटोको पश्चिमतिर रहेको सरबारी तालमा पुगेर हराउने गर्दछन् ।

ओखरबोटका स्थानीय युवा नवीन पुनले तालको बारेमा आफूले सुनेको तर प्रत्यक्ष रुपमा त्यहाँ नपुगेको बताउनुभयो । स्थानीय दलबहादुर घर्तीले ओखरबोट गाउँको मध्यभागबाट पुठा ताल पुग्न करिब एक घण्टा लाग्ने बताउनुभयो । त्यहाँबाट ४५ मिनेटमा दह र दहतालबाट एक घण्टा घनाजङ्गल छिचोलेर हिँडेपछि सरबारी ताल पुगिन्छ ।

जङ्गलको बीच भागमा रहेका तीनवटै तालमा पुगेर म्याग्दीको ओखरबोट र बागलुङको तमानखोला निस्कन चार घण्टाभन्दा बढी समय लाग्ने स्थानीयको भनाइ छ । स्थानीय चेमबहादुर पुनले तालको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार तयार गर्ने हो भने बागलुङ  र म्याग्दीका आन्तरिक पर्यटक यहाँ आउने धारणा व्यक्त गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय