मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा प्राण प्रतिष्ठा

  असार २५, २०७९

काठमाडौँ, असार २५ : पशुपति क्षेत्रस्थित मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको अर्धकदको प्रतिमा (मूर्ति) प्राण प्रतिष्ठा गरिएको छ । प्रतिमालाई प्राण प्रतिष्ठा गर्न पाँचदिने अनुष्ठान असार २१ गतेदेखि मृगस्थलीमा सुरु भएको थियो । शालिक योगी नरहरिनाथ बृहद् आध्यात्मिक परिषद्ले तयार पारेको हो ।

प्रतिमा तयार पार्न रु आठ लाख खर्च लागेको परिषद्का ऋषिकेशजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । तयार पारिएको शालिक प्राण प्रतिष्ठा पनि परिषद्कै सक्रियतामा भएको हो । मूर्ति प्राण प्रतिष्ठा अनुष्ठानको असार २१ गते पूर्वाङ्गसहित जलावास गरिएको थियो । पाँचदिने अनुष्ठानका क्रममा असार २२ गतेदेखि वस्त्रावास, फलावास, अन्नावास, फूलावास, द्रव्यावास सम्पन्न गरी आज प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो ।

अनुष्ठानअन्तर्गत असार २१ गतेदेखि गरिएको हवनको आज पूर्णाहुति समेत गरिएको छ । अनुष्ठानका क्रममा लक्षहोम गरिएको थियो । सबै विधि पूरा गरी आज दशमीको शुभसाइतमा प्रतिमामा प्राण प्रतिष्ठा गरिएको हो । कार्यक्रममा योगी शिरीषनाथ, बलभद्रनाथ, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, पूर्वसांसद शङ्करप्रसाद पाण्डेसहित विभिन्न सन्त महन्तको उपस्थिति रहेको थियो । प्राण प्रतिष्ठामा गुरुकूलका वटुकले स्वस्ति वाचन गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय