शिक्षामा रुपान्तरणका लागि विज्ञको सुझाव

  असार २५, २०७९

काठमाडौँ, असार २५ : विद्यालय शिक्षामा रुपान्तरणका लागि विज्ञान, प्रविधि, इञ्जिनियरिङ, मानविकी र व्यवस्थापन (स्टिम) का विषयलाई एकापसमा अन्तरसम्बन्धित बनाएर शिक्षण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

साउथवेष्टर्नस्टेट कलेजले आज आयोजना गरेको विद्यालय शिक्षामा रुपान्तरणका लागि शैक्षिक तरिका विषयक कार्यशालामा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर मुलुकको समृद्धिमा योगदान दिन आग्रह गरिएको हो ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेलले २१औँ शताब्दी अनुकूल सहभागितामूलक, आलोचनात्मक र परिवर्तनका लागि सिकाइका भावलाई सम्बोधन गर्दै व्यक्तिगत सहकार्य, सूचनाप्रविधि र बहुआयामिक साक्षरता सीपका साथै सञ्चार र सोचयुक्त सीप र उद्यमशीलता एवं उत्पादनमूलक शिक्षा आवश्यक भएको बताउनुभयो । डा लुइँटेलले विद्यार्थीलाई आफैँले काम गरेर, अनुभव गरेर र सोच विकास गराएर शिक्षकहरुले कक्षाकोठाभित्र र बाहिर अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षामा रुपान्तरणका लागि विद्यालय शिक्षा प्रणाली, पाठ्यक्रम र प्रशासनिक संरचनामा पनि परिवर्तन गरेर विद्यार्थीलाई परीक्षामुखी नभई चेतनाको अर्कोस्तरमा लान जोड दिनुभयो ।

नेपालमा केही हुँदैन वा समस्या मात्रै छन् भन्ने सोच त्यागेर पढ्न वा कमाउन विदेश जानुपर्छ भन्ने मान्यता गलत भएकाले स्वदेशमै शिक्षाबाट रुपान्तरण गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा कलेजका प्रमुख डा राजेन्द्रसिंह केसीले ८० लाख युवा विदेशमा रहनु विडम्बनाको कुरा भएकाले नेपालमा विदेशी प्राध्यापक र विद्यार्थीलाई आकर्षण दिने गरी धेरै र बहुविषयका विश्वविद्यालय खोलिनुपर्ने बताउनुभयो । सो अवसरमा काठमाडौँ उपत्यका विभिन्न कलेज र विद्यालयका प्रधानाध्यापक, सहायकप्रधानाध्यापक, संयोजक, प्राज्ञिक नेतृत्वकर्ता र शिक्षकसहित २५० जनाको सहभागिता थियो ।

सहायक क्याम्पस प्रमुख हरिसिंह केसीका अनुसार सरकारी निजी साझेदारी कार्यक्रमको कार्यान्वयन र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि यस्ता कार्यक्रम गरिएको र काठमाडौँ बाहिरका शिक्षाकर्मीका लागि भर्चुअल माध्यमबाट कार्यशाला सञ्चालन गरिएको थियो । सो कलेजले यसअघि २१औँ शताब्दीको शिक्षाबारे काठमाडौँ विश्वविद्यालयमा प्रा डा लक्ष्मण ज्ञवाली र प्रगतिशील विद्यालयबारे सो विश्वविद्यालयका स्कुल अफ एजुकेशनका सहायक डीन डा धनपति सुवेदीको प्रस्तुतिकरण राखेको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय