नेपाल भाषाको पढाइ हुने जगतसुन्दर बोनेकुथीलाई रु ६५ लाख सहयोग

  असार २६, २०७९

काठमाडौँ, असार २६ ; नेपालभाषाको पढाई हुने काठमाडौँ महानगरपालिका–१५ चागलः लाखुतिर्थमा सञ्चालित जगतसुन्दर बोनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ हारतीमाताले काठमाडौँ महानगर पालिकाको सहयोगमा उक्त विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, कम्युटर, स्मार्ट बोर्ड तथा बैठक हल निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गर्भनर दिनेशप्रसाद श्रेष्ठले लायन्स क्लबले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै जगसुन्दर विद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि व्यक्तिगत तथा संस्थागत रुपमा यस्तो सहयोग गर्ने बताउनुभयो ।

लायन्स क्लब अफ काठमाडौँ हारतीमाताका अध्यक्ष अशोकमान महर्जनले लायन्स क्लबको उदेश्य नै समाजसेवा भएको बताउँदै शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँले ‘एक लायन्स क्लब, एक विद्यालय सहयोग’ कार्यक्रमलाई लायन्स क्लबले अगाडि बढाएको उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिकाका निर्देशक बुद्धरत्न मानन्धरले विसं २०७४ देखि विद्यालय शिक्षाको जिम्मा स्थानीय तहले लिएको बताउँदै सोही अनुरुप महानगरपालिकाले लायन्सको सहकार्यमा सहयोग कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

विद्यालय गुठी सञ्चालक समितिका अध्यक्ष प्रा डा चन्दा बज्राचार्यले नेपाल भाषाका अभियान्ता जगतसुन्दर मल्लको स्मृतिमा गुठीद्वारा सञ्चालित उक्त विद्यालयले नेपालभाषा, अङ्ग्रेजी र नेपाली भाषालाई सँगसँगै अगाडि बढाएको बताउनुभयो । उहाँले सुरुका दिनमा विद्यालय सञ्चालनमा निकै समस्या भएको स्मरण गर्नुभयो ।

प्रा डा बज्राचार्यले विस २०४७ को संविधानले कक्षा ५ सम्म मातृभाषामा पढ्न पाउने व्यवस्था गरेअनुसार सोही वर्षको फागुन १२ गते विद्यालय स्थापना गरी नेपाल भाषाको पढाइ सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । जगतसुन्दर विद्यालय नेपाली भाषाको  ‘अनुसन्धान केन्द्र’ का रुपमा अगाडि बढेको उहाँको भनाइ थियो ।

विद्यालयका संस्थापक अनाररत्न बज्राचार्यले विद्यालयले नेपाल भाषाका अतिरिक्त आर्थिक रुपले विपन्न, गरिब, दुःखी विद्यार्थीलाई अध्ययन गराउँदै आएको बताउनुभयो । उहाँले लायन्स क्लबले गरेको आर्थिक सहयोगले विद्यालयमा प्रविधिको माध्यामबाट पढाई सुरु गरेको बताउँदै कोरोनाको समयमा समेत यसले विद्यार्थी तथा शिक्षकलाई राहत पुगेको स्मरण गर्नुभयो ।

जगतसुन्दर मल्लको नाममा स्थापित जगतसुन्दर गुठीबाट सञ्चालित उक्त विद्यालयमा हाल २६० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हाल मन्टेश्वरी कक्षा सञ्चालन हुनुका साथै स्मार्ट वोर्डबाट विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालयकी प्रधाना ध्यापक सुनिता मानन्धरले जानकारी दिनुभयो ।

उक्त विद्यालयमा डल्लु, ढल्को, मरुहिटी, टेकु, ताहचललगायत क्षेत्रका विद्यार्थी पढ्न आउने गरेका छन् । नेपाल भाषामा पढाइ हुने भएकाले उक्त विद्यालयमा नेवारी समुदायको पहिचान झल्कने सङ्ग्राहलयसमेत निर्माण गरिएको छ । यसका अलावा पुस्तकालय, प्राथमिक उपचार केन्द्रलगायत सञ्चालनमा रहेको प्रधानाध्यापक मानन्धरले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय