नागरिकता विधेयकबारे गृहमन्त्री खाणद्वारा प्रचण्ड छलफल

  असार २७, २०७९

काठमाडौँ, असार २७ : नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।

सोमबार बिहान दाहाल निवास  खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिनुभयो । छलफल सकारात्मक भएको उहाँले जानकारी दिनुभयो ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७  असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।

पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहनुभएको छ । आइतबार साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उहाँकै निवास बालुवाटारमा भेटघाट गर्नुभएको थियो ।

सरकारले संसदमा प्रस्त्त गर्ने नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पारित भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्‍याउने अपेक्षा सरकारको छ ।

नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिकबाहेकका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरवाआसीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्बाेधन गर्नेछ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय