युवा प्रधानमन्त्रीमा मनिषा कार्की निर्वाचित

  असार २७, २०७९

काठमाडौँ, असार २७ : यस वर्षको युवा प्रधानमन्त्रीमा दैलेखकी मनिषा कार्की निर्वाचित हुनुभएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा शनिबारदेखि ‘सङ्घीय नमूना युवा संसद्’ मा २४ वर्षीया कार्की युवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । गत वर्ष पोखराकी स्मृति बराल युवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

यस्तै सभामुखमा झापा विर्तामोडका २४ वर्षीया पूजा कँडेल निर्वाचित हुनुभएको छ । उपसभामुखमा रुपन्देहीका अविष्कार पराजुली, प्रतिपक्ष दलको नेतामा कैलालीको रविन्द्रविक्रम शाह चयन भएका छन् । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन शनिबारदेखि भर्चुअल ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गरेको छ ।

यसरी नमूना युवा संसद्बाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता र सांसदको भूमिकामा चयन हुनुभएका युवाले आजदेखि सङ्घीय नमूना संसद्सभाको अभ्यास गर्दै छन् । उनीहरूलाई शनिबार र आइतबार नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गरिएको थियो ।

परिषद्ले १६ देखि २४ वर्ष उमेर समूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउन हरेक वर्ष सङ्घीय नमूना युवा संसद्को अभ्यास गराइँदै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले युवालाई कानुन, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवी भाव, अधिकार, कर्तव्य र दायित्व बोध गराउन संसदीय अभ्यास गराइने बताउनुभयो । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । नमूना युवा संसद् भोलिसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय