विश्व जनसङ्ख्या दिवस : जनसङ्ख्या वृद्धिदरमा अपवाद बन्यो कर्णालीको हिमाल–पहाड

  असार २७, २०७९

कर्णाली, असार २७ : हिमाल–पहाडका ३२ जिल्लाको जनसङ्ख्या वृद्धिदर घट्दा माथिल्लो कर्णालीका जिल्लाको भने जनसङ्ख्या वृद्धिदर उच्च छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार यहाँको हिमाली जिल्ला मुगुको जनसङ्ख्या वृद्धिदर झण्डै दुई प्रतिशत छ । विसं २०६८ मा ५५ हजार २८६ भएको जनसङ्ख्या २०७८ मा ६६ हजार ६८५ पुगेको छ । यो दुर्गम जिल्लामा १० वर्षको अन्तरमा ११ हजार ३९९ मानिस थपिएर जनसङ्ख्या वृद्धिदर १.८ प्रतिशतमा उक्लिएको छ ।

मुगुसँगै जोडिएको अर्को विकट जिल्ला हुम्लामा पनि जनसङ्ख्या वृद्धिदर राष्ट्रिय औसतसँग मिल्दो छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या ५० हजार ८५८ रहेकामा विसं २०७८ मा ५५ हजार ४९६ पुगेको छ । अर्को विकट जिल्ला डोल्पामा पनि १० वर्षको अन्तरालमा छ हजार २५९ मानिस थपिएका छन् । यहाँको जनसङ्ख्या वृद्धिदर १.५ प्रतिशत रहेको छ । कर्णालीका जुम्ला, कालीकोट, जाजरकोट, रुकुम पश्चिममा पनि जनसङ्ख्या वृद्धिदर उच्च छ । नेपालको जनसङ्ख्याको प्रवृत्ति हेर्दा प्रायः दुर्गम, सडक सुविधा नभएका जिल्लाको जनसङ्ख्या ऋणात्मक ९घट्दो क्रम० देखिन्छ । कर्णालीका अति विकट हिमाली जिल्ला अपवाद बनेका छन् ।

हुम्लाका बासिन्दासमेत रहेका प्रदेश योजना आयोगका पूर्वसदस्य डा दीपेन्द्र रोकाया वैदेशिक रोजगारीमा कम जानु, परिवार नियोजनका साधनको सहज पहुँचको अभाव हुनुजस्ता कारण हिमाली जिल्लामा जनसङ्ख्या वृद्धिदर उच्च हुन पुगेको बताउनुहुन्छ । “यहाँका अधिकांश युवा भारत जाने गर्दछन्, भारत जानेलाई वैदेशिक रोजगारीमा गनिँदैन”, उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा ज्ञानको कमी र पछिल्ला वर्ष कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा नगएका हुनसक्छन् । डोल्पा, मुगु र हुम्ला सबैभन्दा कम विदेश उपस्थित भएका जिल्लामा पर्दछन् ।” डा रोकायाले हिमाली, पहाडी जिल्लाहरुको जनसङ्ख्या बढ्नु र तराई बसाइँसराइ रोकिनु प्रदेशको विकासका हिसाबले सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

राज्यले बसोबास व्यवस्थित गर्न बस्ती विकासका योजनालाई प्राथमिकतामा जोड दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हिमाली जिल्लामा विकासका आधारभूत संरचना जस्तै सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चारको विकासमा केन्द्रित गर्नुपर्छ ।” डा रोकायाका अनुसार कर्णाली प्रदेश योजना आयोगले पञ्चवर्षीय योजनाका रूपमा हिल्सा सिमकोट चंखेली सिञ्जा, डोल्पा, हुँदै मुस्ताङ जोड्ने हिमाली पर्यापर्यटकीय सडकको परिकल्पना गरेको थियो । उक्त सडकको हाल विभिन्न खण्डमा काम भइरहेको छ । यसले उच्च हिमाली क्षेत्रमा सडकको पहुँच विकास गर्ने, बसाइँसराइ रोकिने विश्वास छ ।

जनसङ्ख्या वृद्धिदर धनात्मक भएका ४५ जिल्लामा साविक कर्णालीका पाँचवटै जिल्ला पर्दछन् । ती जिल्लाको जनसङ्ख्या वृद्धिदर अन्य पहाडी र हिमाली जिल्लाका जस्तो ऋणात्मक छैन । बरु तुलनात्मकरूपले सुगम मानिएका दैलेख र सल्यानमा जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । यी दुई जिल्लाले १० वर्षको अवधिमा जनसङ्ख्याको ठूलो हिस्सा गुमाएका छन् । विसं २०६८ मा सल्यानको जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा दुई लाख ३८ हजार ६६८ मा झरेको छ । दैलेखको जनसङ्ख्या २०६८ मा दुई लाख ६१ हजार ७७० जनसङ्ख्या रहेको २०७८ मा दुई लाख ५३ हजार ३१९ मा झरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत जनसङ्ख्या शिक्षाका उपप्राध्यापक कुशल बोहरा कम दूरीमा बढी बसाइँसराइ हुने गरेको बताउनुहुन्छ । “अन्य जिल्लाभन्दा सल्यान र दैलेखको बसाइँसराइ बढी भएको छ, दैलेखबाट सुर्खेत नजिक हुनु र सल्यानबाट दाङ नजिक हुँदा ती जिल्लामा बसाइँसराइ बढी भएको हुनसक्छ”, उहाँ भन्नुहुन्छ, “दैलेख र सल्यानको जनसङ्ख्या वृद्धिदर घट्दो क्रममा हुनुमा बसाइँसराइ मुख्य कारण मान्न सकिन्छ ।”

प्रदेश राजधानी रहेको कर्णालीको मुख्य आकर्षण रहेको सुर्खेतको जनसङ्ख्या वृद्धिदर १.६ प्रतिशत पुगेको छ । विसं २०६८ को गणनामा तीन लाख ५० हजार ८०४ भएकामा २०७८ मा चार लाख १७ हजार ७७६ पुगेको छ । यस अवधिमा सुर्खेतमा झण्डै ६७ हजार जनसङ्ख्या थपिएको छ ।

कर्णालीमा ५.८ प्रतिशत जनसङ्ख्या

सात प्रदेशमध्ये सबैभन्दा कम जनसङ्ख्या छ, कर्णालीमा । विसं २०७८ मा गरिएको १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार यहाँको कूल जनसङ्ख्या १६ लाख ९४ हजार ८८९ छ । तीमध्ये महिला आठ लाख ६६ हजार ५८२ तथा पुरुष आठ लाख २८ हजार ३०७ जना छन् । यो कूल जनसङ्ख्याको ५.८ प्रतिशत हो । यहाँका १० जिल्लामध्ये कम जनसङ्ख्या भएका हुम्ला र डोल्पा हो । डोल्पाका ठूलीभेरी र त्रिपुरासुन्दरी कम जनसङ्ख्या भएका नगरपालिकामा पर्दछन् । यहाँका डोल्पा, हुम्ला र मुगु जिल्लाबाट विदेश जाने नागरिकको सङ्ख्या पनि निकै कम छ ।

कर्णाली प्रदेशको जनघनत्व पनि निकै कम छ । सात प्रदेशमध्ये सबैभन्दा बढी मधेस प्रदेशमा प्रतिवर्गकिमी क्षेत्रमा ६३६ बसोबास गर्दा कर्णालीमा भने सोही क्षेत्रफलमा ६१ बसोबास गर्छन् । प्रतिवर्गकिमी क्षेत्रमा बसोबास गर्ने मानिसको सङ्ख्या नै जनघनत्व हो । कर्णालीमै कम जनघनत्व भएका जिल्लामा डोल्पा र हुम्ला पर्दछन् । त्यहाँ प्रतिवर्गकिमी १० भन्दा कम जनघनत्व छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय