कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  असार २८, २०७९

कञ्चनपुर, असार २८ : कञ्चनपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रममा उहाँले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको बताउनुभयो । स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ थियो ।

सहरदेखि ग्रामीण क्षेत्रसम्मका सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुर्याउनका लागि स्वास्थ्य संस्थाको स्तरोन्नतिदेखि भौतिक पूर्वाधार निर्माण, आवश्यक औजार, उपकरण र औषधिको पहुँच सुनिश्चित गरिएको उहाँले बताउनुभयो । जिल्लामा रहेका अस्पतालको स्तर वृद्धिमा समेत जोड दिइएको उहाँको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत वर्षदेखि नै जिल्लालाई पूर्णखोप सुनिश्चितताका लागि कार्य अगाडि बढाइए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण घोषणा कार्यक्रम हुन नसकेको बताउनुभयो ।

बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको उहाँले बताउनुभयो । “जिल्लाका नौवटै पालिकामा रहेका बालबालिकाले पूर्ण खोप पाएका छन्”, उहाँले भन्नुभयो, “सबै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका छौँ ।”

कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका आठ हजार बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखसमेत रहेका जिल्ला पूर्ण खोप समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहराको अध्यक्षतामा पूर्ण खोप सुुनिश्चितता तथा दिगोपना घोषणा गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय