गुरु पूर्णिमामा झापा विद्रोहका योद्धालाई घर

  असार २९, २०७९

बनियानी, असार २९ : झापा विद्रोहका क्रममा डेढ दशकभन्दा बढी समय जेल जीवन बिताउनुभएका योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

गुरुपूर्णिमाको अवसरमा आज स्थानीय लेखक र पत्रकारहरूको पहलमा निर्माण गरिएको पक्की घर उहाँलाई हस्तान्तरण गरिएको पत्रकार तीर्थ सिग्देलले बताउनुभयो । विसं २०२८/२९ को झापा विद्रोहका क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो ।

जीर्ण अवस्थाको कच्ची घरमा बस्दै आउनुभएका उहाँले नयाँ घर पाएपछि खुसी व्यक्त गर्नुभयो । “व्यवस्था परिवर्तनका लागि जेलनेल भोगेर फर्किँदा जुन खुसी मिलेको थियो, आज नयाँ घरमा प्रवेश गर्दा उस्तै महसुस भएको छ”, उहाँले भन्नुभयो, “परिवर्तनका जीवन बिताएका योद्धाहरूलाई राज्यले अझै हेरेको छैन, यस्तो अवस्थाको अन्त्य होस् ।”

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले राजनीतिक पीडितका लागि केही राहतस्वरुप उपलब्ध गराएको रु ७० हजारले पाँच कठ्ठा ऐलानी जग्गा किनेर बसेको उहाँले सुनाउनुभयो ।

लामो समय जेल जीवन बिताउनुभएका योद्धाको अवस्था दयनीय देखेपछि सहयोगका लागि अभियान चलाइएको घर निर्माण समितिका सदस्य सिग्देलले बताउनुभयो । “अभियान चलाएपछि विभिन्न दाता, पत्रकार, लेखकको पहल र सहयोगमा घर निर्माण भएको हो”, उहाँले भन्नुभयो, “घर निर्माणमा अहिलेसम्म १० लाख खर्च भइसकेको छ, घरमा चाहिने आवश्यक सरसामान पनि जुटाउने कोसिस गरिरहेका छौँ ।”

योद्धा तामाङको घर निर्माणमा पत्रकार सिग्देलसँगै लेखक कुमार भट्टराई, दीपिन राईलगायतका सञ्चारकर्मी रहनुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय