विनियोजन विधेयक सम्बन्धमा सम्बन्धित मन्त्रीको जवाफ

  असार २९, २०७९

गण्डकी, असार २९ : गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ । जवाफमा अधिकांशले सीमित साधनस्रोतका बाबजुद प्रदेशवासीका अपेक्षालाई सम्बोधन गर्न खोजिएको बताउनुभयो ।

सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रहरीमा दरबन्दीभन्दा धेरै कम जनशक्ति हुँदा अपेक्षित काम गर्न कठिनाइ भएको बताउनुभयो । विपद् व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो । इलाका प्रहरी तथा प्रहरी चौकीमा सवारी साधनको कमी भएको विषय आए पनि आगामी आवमा अत्यावश्यक बाहेक सवारीसाधन खरिद नगर्ने नीतिका कारण त्यसका लागि बजेट विनियोजन नभएको उहाँले बताउनुभयो ।

वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले बाँदरका कारण कृषक समस्यामा परेका कारण यसको समाधानका लागि बाँदर पार्कको सम्भाव्यता अध्ययन गर्न खोजिएको बताउनुभयो । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले निर्माण गरिएका कानुनको कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेशमा बनेकामध्ये ३९ वटा कानुन कार्यान्वयनका क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा उत्पादन र उत्पादकत्व बढाउँदै आयात प्रतिस्थापन गर्ने सरकारको योजना रहेको बताउनुभयो । उत्पादनका आधारमा प्रोत्साहन, प्रभावकारी बजार व्यवस्थापन लगायतका विषयलाई जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया गुरुङले स्वास्थ्य सेवालाई सहज, सुलभ तथा प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रदेशमा नियमित खोप कार्यक्रमअन्तर्गत १५ महिना मुनिका बालबालिका सबैले खोप पाएको उहाँले जानकारी गराउनुभयो । कोभिड–१९ विरुद्धको खोप १२ वर्ष माथिकाले दुई मात्रा पाइसकेको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कानुन तथा साधन स्रोतभित्र रहेर कार्यक्रम अघि सारिएको बताउनुभयो । प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति निर्माण गर्नका लागि सरकारले बजेट छुट्याइएको उहाँले बताउनुभयो । यसबाट स्वरोजगारी बनाउँदै उत्पादनसँग जोड्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले होमस्टेमा स्थानीय उत्पादनलाई जोड दिइएको बताउँदै राम्रो अनुगमन गरेर मात्रै होमस्टेमा लगानी गर्ने स्पष्ट पार्नुभयो । नवलपुरको लौकाहा खोला र कास्कीको पुडिटार र तनहुँको शुक्ला गण्डकी नगरपालिकामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि केही काम अघि बढेको उहाँले जानकारी दिनुभयो ।

लौकाहा खोलाको नापी भएको र १४१ बिघा जमिन प्रमाणित भएकोे जानकारी दिदै उहाँले तनहुँको शुक्लागण्डकीतर्फ लगभग एक हजार ३०० रोपनी नापी भएको र कास्कीमा नापीको काम अझै तीव्रता नआएको जानकारी दिनुभयो ।

युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङेले बजेट थोरै भएकै कारण बनाएका खेल मैदानको स्तरोन्नति गर्न नसकेको बताउनुभयो । अघिल्लो वर्ष प्रदेशभरि २५० खेल मैदान बनाएको र १५० पनि निर्माण प्रक्रिया पूरा हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयमा सात महिनाको अवधिमा पाँच जना सचिव फेरिएको बताउँदै उहाँले जसका कार्य सञ्चालनमा कठिनाइ आउने गरेको उल्लेख गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय