एक लाख २५ हजार राशिको भानुभक्त पुरस्कार नेपालीलाई प्रदान

  असार २९, २०७९

काठमाडौँ, असार २९ : यस वर्षको आदिकवि भानुभक्त पुरस्कार इतिहासकार चित्तरञ्जन नेपालीलाई प्रदान गरिएको छ । नेपाल शिक्षा परिषद्ले २०९ औँ भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको आदिकवि भानुभक्त पुरस्कारबाट यस वर्ष इतिहासकार नेपालीलाई प्रदान गरिएको हो ।

रु एक लाख २५ हजार नगद राशि र प्रमाणपत्र रहेको उक्त पुरस्कार आज साहित्यकार एवं शिक्षाविद मुकुन्द शर्मा चालिसेले नेपालीलाई प्रदान गर्नुभयो । भानु पुरस्कारबाट सम्मानित नेपाली विसं २०१३ सालको मदन पुरस्कार विजेतासमेत हुनुहुन्छ । बयानब्बे वर्षीय नेपालीले ‘तत्कालीन नेपाल र भीमसेन थापा’ कृतिमा मदन पुरस्कार पाउनुभएको थियो ।

पुरस्कार हस्तान्तरण गर्दै शिक्षाविद चालिसेले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भानुजयन्तीको महत्वपूर्ण दिनमा महत्वपूर्ण व्यक्तिलाई भानु पुरस्कार अर्पण गर्न पाएकोमा आफैँलाई भाग्यमानी भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष मोहन सिटौला र नेपाल शिक्षा परिषद्का सदस्य डा बमबहादुर थापा ‘जीताली’ले भानुभक्त आचार्यको साहित्य नेपालमा मात्र नभई विश्वमाझ फैलिएको बताउनुभयो ।

नेपाल शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाली भाषा, साहित्य, संस्कृति र अध्यात्म क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष भानु पुरस्कारबाट सम्मान गर्दै आएको बताउनुभयो । उहाँले अक्षयकोष स्थापना गरी भानु पुरस्कार स्थापना गर्दै आएको उल्लेख गर्नुभयो ।

विसं २००८ सालमा स्थापना भएको नेपाल शिक्षा परिषद्ले विसं २०१६ सालमा नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको बाहुलीबाट दरबार हाइस्कूल अगाडि भानुभक्तको प्रतिमा स्थापना गरी हरेक वर्ष भानुजयन्तीमा माल्यार्पण गर्दै आएको नेपाल शिक्षा परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय