जनवादी गीतले नै मलाई मुख्यमन्त्री बनाएको हो : मुख्यमन्त्री पाण्डे

  असार २९, २०७९

हेटौँडा, असार २९ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जनावादी गीतहरुले नै आफू मुख्यमन्त्री भएको बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको ‘जीवन शर्मा एकलसाँझ’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले कम्युनिष्टले जनता जगाउने क्रममा जनवादी गीतको प्रयोग गरिएको र यही गीतले जनता जाग्दै व्यवस्था परिवर्तनसम्मको अवस्था सिर्जना हुँदा सोही क्रममा आफू मुख्यमन्त्री भएको जनाउनुभयो ।

जनताको वास्तविकता बोक्ने गरेको जनवादी गीतहरुले सामाजिक र सांस्कृतिक क्रान्ति भएको उहाँको भनाइ छ । सोही प्रेरणाका आधारमा कम्युनिष्ट नेता ठाँउमा पुग्दा गर्ने रहेछन् भन्ने विश्वास जनतालाई दिलाउनका लागि समाजवादी वडा कार्यक्रमको थालनी गर्न लागेकोसमेत उहाँले बताउनुभयो ।

प्रदेश सरकारले समाजमा पिछडिएकाका लागि छानाको व्यवस्था गरिदिने बताउँदै उहाँले साउनदेखि नै वनकरियाको घर बनाउन सुरु गरिने जानकारी दिनुभयो ।

आजको एकलसाँझ चार दशकभन्दा लामो समयदेखि अनवरतरूपमा जनताका पक्षमा गीत गाउँदै आउनुभएका जीवन शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति भएको हो । शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ गीत गाउँदै मुख्यमन्त्री पाण्डेसहित सहभागी प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि र साहित्यकारलाई आफूसँगै नचाउनुभएको थियो । दर्जनौँ गीत प्रस्तुत गर्दै गायक शर्माले ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई सिसाको महल’लगायतका गीत प्रस्तुत गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय