राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन छिटो गर्न सांसद गौतमको आग्रह

  असार ३०, २०७९

काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिय सभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ ।

सांसद गौतमले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुङ्गो तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभाका चारवटा समितिमध्ये तीनवटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो । सांसद गौतमले भन्नुभयो, ‘मैले एउटा त भन्नैपर्ने भयो । यो ज्येष्ठ सदस्यले सभापतित्व गर्ने दिगो विकास तथा सुशासन समितिको जतिसक्दो छिटो सभापति आउनु भए उहाँलाई स्वागत गर्न पाए खुसी हुने थिएँ ।’

चारवटा समिति भएको राष्ट्रिय सभामा तीनवटा समितिमा सभापति नभएको नेता गौतमले बताउनुभयो । अध्यक्ष तिमिल्सिनालाई त्यसमा पहलकदमी लिन उहाँले आग्रह गर्नुभयो । त्यस अवसरमा सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय